Shittalpati
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, आजै शपथ गराउने तयारी

पाल्पा, लामो समयको कसरत पछि लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार ३ जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

उनले कांग्रेस, जसपा, जनमतबाट एक/एक जना गरी तीन जना थपेर सात सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । जनमत पार्टीबाट रुपन्देहीबाट निर्वाचित चन्द्रकेश गुप्तालाई सामाजिक विकासमन्त्री, जसपाका बाँकेका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था, दाङका कांग्रेसका राजु खनाललाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै दुई जना विनाविभागीय मन्त्रीको पनि जिम्मेवारी तोकिएको छ । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेले आन्तिरिक मामिला तथा कानुन मन्लायको जिम्मेवारी तोकिएको हो । लोसपाका पाण्डेय र उन्मुक्तिका चौधरी झन्डै एक महिनाअघि मन्त्री नियुक्त भए पनि बिनाविभागीय थिए ।

मुख्यमन्त्रीनिकट स्रोतका अनुसार आज दिउँसो ३ बजे शपथ ग्रहण गराउने गरी प्रदेश प्रमुखको कार्यालयमा जानकारी गराइसकिएको छ । स्रोतका अनुसार कांग्रेस र माओवादीभित्रको आन्तरिक विवादबीच मुख्यमन्त्री चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । बजेट निर्माणको तयारीका बेला लामो समयसम्म मन्त्रिपरिषद् विस्तार नहुँदा मन्त्रालयमा बजेट निर्माण र विभागीय निर्णयमा कठिनाइ परेको भन्दै आलोचना बढेपछि मुख्यमन्त्री चौधरीले सानो आकारमा मन्त्रिपरिषद्विस्तार गरेको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update