Shittalpati
लामो कसरतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, पूर्णता भने अझै पाएन

हाम्रा संवाददाता
पाल्पा, लामो समयको कसरत पछि लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद् विस्तार भएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको २५ दिनपछि डिल्लीबहादुर चौधरीले सोमबार ३ जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हन् ।

उनले काँग्रेस, जसपा, जनमतबाट एक/एक जना गरी तीन जना थपेर सात सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । जनमत पार्टीका रुपन्देहीबाट निर्वाचित चन्द्रकेश गुप्तालाई सामाजिक विकासमन्त्री, जसपाका बाँकेका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था, दाङबाट काँग्रेसका राजु खनाललाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी तोकिएको छ । त्यस्तै दुई जना विनाविभागीय मन्त्रीको पनि जिम्मेवारी तोकिएको छ । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेले आन्तिरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको हो । लोसपाका पाण्डेय र उन्मुक्तिका चौधरी झण्डै एक महिना अघि मन्त्री नियुक्त भए पनि बिना विभागीय थिए । मन्त्रीमा नियुक्ति भएका तीनै जनाले सोमबार नै पद तथा गोपनियताको शपथ लिएका छन् । काँंग्रेस र माओवादीभित्रको आन्तरिक विवादबीच मुख्यमन्त्री चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । बजेट निर्माणको तयारीका बेला लामो समयसम्म मन्त्रिपरिषद् विस्तार नहुँदा मन्त्रालयमा बजेट निर्माण र विभागीय निर्णयमा कठिनाइ परेको भन्दै आलोचना बढेपछि मुख्यमन्त्री चौधरीले सानो आकारमा मन्त्रिपरिषद् विस्तार गरेको जनाइएको छ । ७ सदस्यीय मन्त्रीपरिषद गठन भए पनि प्रदेश सरकार पूर्णता भने अझै पाउन सकेको छैन । लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय छन् । ८ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ५३ जनाको समर्थनमा चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गठबन्धनमा ८ दल भएकाले मन्त्रालय भागबण्डा र आफ्नै पार्टी काँग्रेस भित्रको विवादले मन्त्रीपरिषद्रु विस्तार रोकिएको थियो । यसअघि कांग्रेसले मुख्यमन्त्रीसहित ४ र माओवादीले ३ मन्त्रालय लिने सहमति गरेका थिए । तर, अहिले साना दललाई पनि बाँडफाँट गर्नु परेपछि मुख्यमन्त्री चौधरी अप्ठेरोमा परेका छन् । माओवादीले ३ मन्त्रालयको अडान नछोडे कँंग्रेसले १ जना मन्त्री मात्र थप्न पाउनेछ । माओवादीको भागमा परेका मन्त्री नियुक्त हुन बाँकी छन् । माओवादीले नाम टुङ्गो लगाउन बाँकी भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै समय लाग्ने भएको छ । माओवादीको भागमा तीन मन्त्रालय परेका छन् । मास्की आर्थिक मामिला मन्त्री बनेका छन् । अब दुई मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा माओवादीले टुङ्गो लगाएको छैन ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update