Shittalpati
अफगानिस्तानबाट १ सय १८ नेपालीको उद्धार

काठमाडौं, अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको छ । अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी मंगलबार १ सय १८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जनाएको छ ।

सरकारले त्यहाँ रहेका नेपाललाई सकुशल उद्धारका लागि समन्वयात्मक ढङ्गले काम गर्न आफ्ना मातहतका निकायलाई निर्देश गरिसकेको छ । सोमबार भएको मन्त्रिपरिषद् बैठकले त्यहाँ रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको थियो । अफगानिस्तानको विकसित घटनाका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाई उनीहरुको उद्धार गर्न सरकारले शनिबार एक कार्यदल गठन गरेको थियो ।

परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखहरु एवं अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सोसरहका सदस्य रहेका छन् । उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ । अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ ।–रासस

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update