Shittalpati
रवि लामिछाने राजनीतिमा प्रवेश, गरे पार्टीको घोषणा

पाल्पा, लामो समय सञ्चारकर्ममा लागेका रवि लामिछाने राजनीतिमा प्रवेश गरेका छन् । उनले केही दिन अघि आफ्नो सामाजिक सञ्जालमार्फत सञ्चारकर्मम छाडेर राजनीतिमा प्रवेश गरेको बताएका थिए ।

उनले राजनीतिमा प्रवेश गरेको घोषणा गरे लगत्तै मंगलबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रमको आयोजना गरी नयाँ पार्टीको घोषणा समेत गरेका छन् । लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको घोषणा गरेका हुन् । पार्टी घोषणा गरे पनि उनले आफूले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भनेर स्पष्ट खुलाएका भने छैनन् । राष्ट्रिय सभा गृहमा भएको कार्यक्रमको एनजेडी संवाददाताले गरेको प्रत्यक्ष प्रसारणको आधारमा यो समाचार तयार पारिएको हो । उक्त कार्यक्रममा लामिछानेले झापा, डडेलधुरा, चितवनबाट चुनाव लड्न मन भएको र त्यहाँबाट चुनाव लड्न नडराएको बताएका छन् । उनले पार्टीका सदस्यहरुको सुझावका आधारमा सुझवुझका साथ उम्मेदवारी घोषणा गर्ने बताए ।

लामिछानेले भनेका छन्, ‘कुनै पनि दलमा राम्रा मान्छे नभएका होइनन् । प्रत्येक दलमा राम्रा मान्छे छन् तिनीहरूको सम्मान गर्नुपर्छ ।’ यस्तै उनले आफ्नो पार्टीका धारणा सार्वजनिक गर्दै क्षमता भएका युवाहरूलाई आफ्नो पार्टीमा आवद्ध हुन पनि आह्वान गरेका छन् । साथै ती युवाहरूलाई पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने उनले बताएका छन् । लामिछानेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान आफ्नो पार्टीले अबलम्वन गर्ने पनि बताएका छन् । पार्टीले कुनै पनि भ्रातृ संगठन नखोल्ने उनले घोषणा गरेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update