Shittalpati
लुम्बिनीमा मन्त्रालय फुटाएर १२  पुर्‍याइयो

दाङ,लुम्बिनी प्रदेश सरकारमा गठबन्धन दलबीच भागबण्डा मिलाउन मन्त्रालय फुटाएर १२ पुर्‍याइएको छ । मुख्यमन्त्री जोखबहादुर महराले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० मन्त्रालय रहेको लुम्बिनीमा भागबन्डा मिलाउन मन्त्रालय फुटालेर १२ पुर्‍याएका हुन् ।

बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको हो । मन्त्रालय फुटालेर दुईवटा नयाँ बनाइएको छ । मुख्यमन्त्री महराले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय थपेका छन् । मन्त्रालय थपेर मुख्यमन्त्री महराले विनाविभागीय मन्त्रीहरूलाई जिम्मेवारी समेत तोकेका छन् ।
जसमा एमालेबाट गुल्मी निर्वाचन क्षेत्र २ (२) का सांसद दिनेश पन्थीलाई आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, कपिलवस्तु निर्वाचन ३ (१) का सांसद अर्जुनकुमार केसीलाई वन तथा वातावरण मन्त्रालय, रुपन्देही निर्वाचन क्षेत्र ५ (१) का सांसद भूमीश्वर ढकाललाई सहरी तथा खानेपानी मन्त्रालय र बाँके निर्वाचन क्षेत्र ३ (१) का सांसद रत्नबहादुर खत्रीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ । नागरिक उन्मुक्ति पार्टी, संसदीय दलका नेता बर्दिया निर्वाचन क्षेत्र २ (२) सांसद धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय र नवलपरासीका निर्वाचन क्षेत्र २ (१) का स्वतन्त्र सांसद खड्क बस्नेतलाई पर्यटन, उद्योग तथा सहरकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ । 

एमालेबाट चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीबाट दीपेन्द्रकुमार पुन मगरलाई सरकारको प्रवक्ता तथा स्वास्थ्य मन्त्रालय र जसपका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी गत बिहीबार नै तोकिएको थियो । मुख्यमन्त्री नियुक्त हुनुअघि चैत २२ गतेको ७ बुँदे सहमतिलाई मुख्यमन्त्री महराले पालना नगरेको भन्दै मन्त्री अहिरले आइतबार पदबाट राजीनामा दिएर जसपा सरकारबाट बाहिरिएको थियो । अहिरले मन्त्री पदबाट राजीनामा दिएपछि ११ सदस्यीय मन्त्रीको नामावलीमा उनको नाम कृषिमन्त्रीमै रहेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नेकपा एसकी भगवती अधिकारीलाई दिइएको छ । मुख्यमन्त्री महराले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मुख्यमन्त्री महराले आफैं राखेका छन् ।


 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update