Shittalpati
आज काँग्रेसको पालिका अधिवेशन, पाल्पा सहित ६४ जिल्लामा हुँदै

पाल्पा, काँग्रेसले वडा तहको अधिवेशन भइसकेका पाल्पा सहित ६४ जिल्लामा आज स्थानीय तहस्तरको अधिवेशन गर्न लागेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार आजदेखि यि जिल्लाका स्थानीय तहहरुमा अधिवेशन गर्न लागेको हो । पाल्पामा पनि अधिवेशनको तयारी पुरा भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरेले बताए । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा नयाँ नेतृत्व पाउने भएकाले यतिबेला काँग्रेसका नेता तथा कार्यकर्ता उत्साही देखिएका छन् । आज सबै पालिकाबाट काँग्रेसको नयाँ नेतृत्व चुनिने छन् । जिल्लाको नेतृत्वदायी पदमा आकांक्षी देखिएका नेतासमेत आन्तरिक बैठक, छलफल र भेलामा जुटेका छन् । पार्टी सचिव गहिरेका अनुसार जिल्लाका १० वटै पालिकामा निर्वाचन अधिकृत खटाई सकिएको र निर्वाचन सामग्रीहरु समेत पठाइसकिएको छ । पालिका तहको निर्वाचनमा सहभागी हुन जिल्ला बाहिर रहेका काँग्रेसका कार्यकर्ताहरु समेत जिल्ला आइसकेका छन् । पालिका तहको निर्वाचनमा नेतृत्व चयनका विषयमा व्यापक छलफल र बहसहरु भइरहेका छन् ।

सकेसम्म सहमति जुटाएर पालिकामा नेतृत्व चयन गर्ने, सहमति नजुटेका केही स्थानमा निर्वाचन हुने पार्टी सचिव गहिरेले बताए । जिल्लामा एक हजार ४ सयको हाराहारीमा प्रतिनिधि रहेको नेपाली काँग्रेस तानसेन नगरपालिका ५ का जिल्ला प्रतिनिधि तथा युवा नेता विदुर घिमिरेले जानकारी दिए । उनका अनुसार पालिका अधिवेशनका लागि वडाबाट चुनिने प्रतिनिधि, क्षेत्रिय सभापति, प्रदेश सांसद्का उम्मेदवार, (समानुपातिक, प्रत्यक्ष दुवै), केन्द्रीय कार्यसमितिका वर्तमान र पूर्वपदाधिकारी र सदस्य पालिका अधिवेशनमा मतदाता रहने काँग्रेसको विधानमा व्यवस्था रहेको छ । गाउँ/नगरमा एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिवका लागि निर्वाचन हुने छ । एक कोषाध्यक्ष मनोनित हो। सदस्यहरू पनि प्रत्यक्ष र समावेशी तर्फबाट रहने व्यवस्था विधानले सुनिश्चित गरिदिएको छ ।

आगामी नेतृत्वका लागि जिल्लामा धेरै व्यक्तिहरु बीच प्रतिस्पर्धा हुने संकेत देखिएपछि शिर्ष नेताहरु आ–आफ्नो पक्षका नेता कार्यकर्तालाई जिताउने आन्तरिक कसरतमा जुटेका छन् ।

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update