Shittalpati
पाल्पामा आईसोलेशन कक्षहरुको अनुमगन, पर्याप्त मात्रामा नभएको गुनासो

हाम्रा संवाददाता
पाल्पा । कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा निर्माण गरिएका केही आइसोलेशन कक्षहरुको अनुगमन तथा निरीक्षण गरिएको छ । आईसोलेशन निर्माण तथा व्यवस्थापन समिति पाल्पाले तानसेन नगरपालिकाको सहयोग र युनाईटेड मिसन अस्पतालको सहयोगमा निर्माण भएको आईसोलेशन कक्षहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा अस्पतालमा २० वेडको आईसोलेशन कक्ष निर्माण गरिएको भएता पनि त्यतिले मात्रै प्राप्त हुने अवस्था नरहेकाले वैकल्पिक व्यवस्था हुन नसकेको अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले गुनासो गरेका छन् ।

युनाईटेड मिसन अस्पतालको संयोजनमा भुषालडाँडाको वृद्धाश्रम भवनमा २० वेडको आईसोलेशन कक्ष निर्माण गरिएको भएपनि त्यो पर्याप्त मात्रामा हुन नसक्ने अधिकृत भट्टराईले बताए । उनले भने ‘तराईका जिल्लाहरुमा जस्तै पहाडी जिल्लामा पनि यस्तै प्रकारले संक्रमितहरुको संख्या थपिदै गए, हामीलाई यतिले पुग्दैनन्, त्यसका लागि पूर्वतयारी पुगेको छैन् ।’ एलएमसी जस्ता क्षमता भएका अस्पताललाई केही नभन्ने हामीलाई मात्रै पेलेर आईसोलेशन स्थापना गर्न भन्ने काम अवैज्ञानिक भएको भट्टराईले बताए । उनले भने ‘यस्तो गर्नु हुँदैन, एलएमसीले चाहेमा ५ सय वेडको आईसोलेशन बनाउन सक्छ तर त्यो कुरा त्यहाँ कसैले गर्दैनन्, विद्यालय र सुविधा नभएका ठाउँमा आईसोलेशन राख्दा विरामीले समयमा उपचार पाउँन सक्दैनन्, त्यो कुरा गम्भीर भएर सोच्नुपर्छ ।’ अनुगमनका क्रममा पुगेका समितिका प्रतिनिधि र पत्रकार समक्ष गुनासो राख्दै भट्टराईले भने ‘विरामीको सेवाका लागि सबै स्वास्थ्यसेवी संस्थाहरु आ–आफ्नो क्षमता अनुसार तयार हुनुपर्ने अवस्था अहिले हो, केवल कुरा मात्रै ठूला गर्ने अनि काम नगर्ने जस्ता कार्य बन्द गर्नुपर्छ ।’ देशव्यापी रुपमा कोरोना संक्रमितहरु बढ्दै गएपछि, पाल्पामा पनि आईसोलेशन निर्माण तथा व्यवस्थापनको तयारीलाई व्यापक बनाईए पनि त्यो पर्याप्त मात्रामा नभएको सम्बन्धित स्वास्थ्य संस्थाहरुले बताएका छन् । आईसोलेशन निर्माण तथा व्यवस्थापन समितिका संयोजक तथा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लामा आईसोलेशन कक्ष निर्माणलाई व्यापक बनाइएको बताए ।

निर्माणका गरिएका आइसोलेशन कक्षकोहरु अनुगमनका लागि बेल्वासेको नेतृत्वमा सदस्य सचिव तानसेन नगरपालिकाका लेखा अधिकृत कौशलराज घिमिरे, सदस्यहरुमा माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी, बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, गोरख दल गणका सेनानी मनोज डंगोल, शसस्त्र वेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक हिरा बोहोरा रहेका छन् । सो समितिले जिल्लाका स्थानीय तहमा निर्माण भएका आईसोलेशनहरुको अनुगमन तथा निरीक्षण गरी रहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update