Shittalpati
 किन रोकिएनन् अकाल मृत्युका घटना ?

पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी सात जनाको अकालमै मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो समय भएका घटनामध्ये सवारी दुर्घटनामा चार जना, करेन्ट लागेर एक जना तथा अन्य दुई जनाको विभिन्न कारणले मृत्यु भएको हो ।

घटनामा केही व्यक्ति घाइते भएका छन् भने सम्बन्धित घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । उदयपुरको बेलका नगरपालिका–५ जहडास्थित सडकमा अटो र बस एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आएको को.१ ख ३५१६ नम्बरको बस सोमबार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा अटो चालक बेलका नगरपालिका–५ मैनी बस्ने २८ वर्षीय ईन्द्र थापा मगर, अटोमा सवार सोही ठाउँकी ३४ वर्षीया मन्दिरा मगर र हाल नाम, थर तथा वतन नखुलेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा अटोमा सवार अन्य दुई जना घाइते भएका छन् । उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।त्यस्तै, कञ्चनपुरको बेदकोट नगरपालिका–६ सिसैयास्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । से.३ प ५२७४ नम्बरको मोटरसाइकल सोमबार बिहान दुर्घटना हुँदा बेदकोट नगरपालिका–९ सुन्दरपुर बस्ने ६० वर्षीय गौर सिंह महराको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका महराको टेक केयर अस्पताल प्रालि, धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसैगरी, रौतहटको गौर नगरपालिका–४ विपी चोकस्थित युवा राईज सुधार केन्द्रको कम्पाउण्डमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

उक्त केन्द्रमा बस्दै आएका भारतको बेतिया घर भएका ३४ वर्षीय विकाश रायले कम्पाउण्डमा जडान गरिएको विद्युतीय मोटरबाट चल्ने कल प्रयोग गर्ने क्रममा सोमबार बिहान करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका रायको प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको हो । यता, काठमाडौं र जाजरकोटमा दुई जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी नजिकैको खाली जग्गामा हाल नाम, थर तथा वतन नखुलेका अन्दाजी ४० वर्षीय एक पुरुष सोमबार मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान तथा मृतकको पहिचान खुलाउने प्रयास गरिरहेको जनाएको छ । त्यसैगरी, जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ छिर्का टोल बस्ने ३९ वर्षीया रचना थापा भन्ने रती थापा सोही गाउँपालिका–६ स्थित ठुलाखोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

उनको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । देशका विभिन्न स्थानमा भएका यी घटनाबारे सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान अघि बढाउनुका साथै सम्बन्धित पक्षसँग आवश्यक सोधपुछ तथा कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update