Shittalpati
गोरखा–जितगढी पदयात्रा : सेनाको टोली पाल्पा आइपुग्यो

पाल्पा, चैत २७ गतेदेखि दोस्रो गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको नेपाली सेनाको टोली पाल्पा आईपुगेको छ । गोरखा, तनहुँ, स्याङ्जा हुँदै आइतबार पाल्पा आइपुगेको हो । 

उताबाट आएको फौजले पाल्पामा तैनाथ फौजलाई पाल्पा र स्याङ्जाको सीमाना केलादीमा झण्डा हस्तान्तरण गरेको छ । उक्त टोलीलाई त्यहाँ भव्य स्वागत गरिएको थियो । टोलीलाई पाल्पास्थित नेपाली सेनाको द फेमस महीन्द्र दल गणले केलादीमा स्वागत गरेको हो । ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने तथा सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यले सेनाले पदयात्रा गरिरहेको छ । उक्त पदयात्राका क्रममा सेनाको टोली अहिले पाल्पा आइपुगेको हो ।

नेपाली सेनाको आयोजना र स्थानीय तहहरुको सहयोगमा सेना ११ दिने पदयात्रामा निस्किएको छ । उक्त टोलीको प्रतिनिधि मण्डल र पाल्पास्थित ‘दि फेमस महिन्द्र दल गण’ ले आइतबारदेखि पाल्पाको गढी तथा किल्लासम्मको यात्रा गर्ने छन् । रामपुरको केलादीदेखि तिनाउको नुवाकोट गढीसम्म पदयात्रा हुने छ । पदयात्रा रामपुर, निस्दीको बेलडाँडा, पूर्वखोलाको सिलुवा हुँदै वीरकोटको बाकुमगढी पुग्ने छ । बाकुमगढीबाट माथागढी, प्रभास, तानसेन हुँदै दोभानको नुवाकोटगढीबाट वैशाख ७ गते जितगढीमा पुगेर पदयात्रा सकिने छ । सेनाले पाल्पामा वैशाख २ देखि ७ गतेसम्म ३ सय ५ किलोमिटर पदयात्रा गर्ने छ ।

पदयात्रामा नेपाली सेनाका ५२ जना अधिकृत, सकलदर्जा, सुरक्षाकर्मीको सहभागिता रहेको छ । पदयात्रा गोरखाबाट सुरु भई रुपन्देहीको जितगढी किल्ला पुगेर विजय उत्सवका रुपमा सहभागी भई टुँगीने छ । नेपाल आक्रमणमा आएको अंग्रेज सेनालाई पराजित गरेको दिनको स्मरण गर्दै बैंशाख ७ गते ऐतिहासिक स्थल जितगढी किल्लामा विजयोत्सव मनाउने गरिन्छ । १८७२ वैशाख ७ मा अंग्रेज सेनामाथि नेपाली सेनाले विजय प्राप्त गरेको दिन पारेर बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजयोत्सव मनाउँदै आएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update