Shittalpati
स्याङ्जाको वालिङमा भएको जिप दुर्घटनामा ५ को मृत्यु, ६ घाइते

पाल्पा, स्याङ्जाको वालिङमा बोलेरो जिप दुर्घटना भएको छ । वालिङ नगरपालिका –१२ डाँडाखर्कस्थित भित्री सडक खण्डमा डाँडाखर्क गाउँबाट वालिङबजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जिप आइतबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा डाँडाखर्कका ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मिला सारु, सारुको ७ महिने (नाम नखुलेको) छोरा र वालिङ नगरपालिका–१४ की ६१ वर्षीय कुलकुमारी कनौजे रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए । आइतबार बिहान १० बजेतिर भएको दुर्घटनामा परी ४ जनाको घटनास्थलमा र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै घाइते हुनेहरुमा सोही स्थानका ६० वर्षीय अंगबहादुर दाला, ५५ वर्षीया मायाकुमारी सारु, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीया नविना सारु, १९ वर्षीया लक्ष्मी दाला र चालक ६० वर्षीय दलबहादुर थापा रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये अंगबहादुर, माया, लक्ष्मी र दलबहादुरको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

घाइते उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारपछि पोखरा स्थित गण्डकी मेडिकल कलेजमा पठाइएको छ । जिपमा सवार यात्रु संख्या नखुलेको र दुर्घटनाका बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिप कच्ची सडकबाट झण्डै २ सय मिटर तल खसेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update