Shittalpati
त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु, एक बेपत्ता

चितवन,  काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष, तीन महिला र एक बालकको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार ज्यान गुमाउनेहरूमा चालक गोरखा नगरपालिका–७ का ३२ वर्षीय अर्जुन सिर्मल, ट्याक्सीमा सवार ४१ वर्षीया हरिमाया रोका, ७० वर्षीया जुनकिरी रोका, २९ वर्षीया अन्जना रोका र ९ वर्षीय बालक आगमन उपरकोटी रहेका छन् । उनीहरू सबै एकै परिवारका रहेको बुुझिएको छ । बेपत्ता भएका १८ वर्षीय दिवश रोकाय भने हालसम्म फेला नपरेका प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको जनाइएको छ । गोरखा नगरपालिका–७ का शंकर रोकाको उपचारको क्रममा निधन भएपछि उनीहरू अन्तिम संस्कारका लागि काठमाडौं पुगेका थिए । शुक्रबार पशुपति आर्यघाटमा दाहंस्कार गरी फर्कने क्रममा ट्याक्सी दुर्घटनामा परेको पारिवारिक स्रोतले जनाएको छ ।

शनिबार बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक  बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो । ट्याक्सीमा सवार ६ मध्ये पाँच जना मृत भेटिएका छन् । घटनाको विषयमा थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update