Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा अकालमै गयो ६ जनाको ज्यान

पाल्पा, देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको अकालमै ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर, सर्लाही, झापा र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको हो ।

ललितपुरको ललितपुर महानगरपालिका–१ कुपण्डोलस्थित सडकमा ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बाग्मती प्रदेश ०१–००३ क ९२४८ नम्बरको ट्याङ्करको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सर्लाहीको ईश्वरपुर नगरपालिका–१४ स्थित सडकमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ग.७ प ९४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँ बस्ने चालक १९ वर्षीय बिष्णु कुमार महतोको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्को एक जनाको बयोधा अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

यस्तै झापाको बाह्रदर्शी गाउँपालिका–१ खैरबारीस्थित सडकमा मोटरसाइकल र स्कुटर ठक्कर खाई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र प्र.१–०१–०१६प ९२७० नम्बरको स्कुटर ठक्कर खाई दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा स्कुटर चालक कचनकवल गाउँपालिका–३ बस्ने ६० वर्षीय श्री प्रसाद राजबंशी, स्कुटरमा सवार सोही ठाउँ बस्ने २७ वर्षीया उर्मिला राजबंशीको छोरा ३ वर्षीय आयुष राजबशी र मोटरसाइकल चालक भारत किशनगंज डिगलबैंक बस्ने २५ वर्षीय सुरज टुडु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर र मोटरसाइकल चालकको प्रादेशिक अस्पताल भद्रपुर र आयुषको विएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार उर्मिलाको विएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–६ स्याउलेस्थित सडकमा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । म. १ ह ८५८ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–६ बस्ने ५५ वर्षीया लक्ष्मी ढुङगानाको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै अटोको ठक्करबाट घाइते भएका अन्य १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update