Shittalpati
पासोमा परेको चितुवाको पाल्पाबाट उद्दार

पाल्पा । जिल्लाको रैनादेवी छहरा ३ भुवनपोखरीको छचुवामा पासोमा परेको एक चितुवाको उद्दार गरिएको छ । दुम्सीका लागि थापेको पासोमा परी छट्पटीरहेको अवसथामा स्थानीयले देखेर डिभिजन वन कार्यालय र प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै घटनास्थलमा पुगेको डिभिजन वन कार्यालय र प्रहरीको टोलीले चितुवाको उद्दार गरेको हो । स्थानीयले खेतबारीमा लगाएको अन्नपात दुम्सीले खाना थालेपछि बाटोमा पासो थापेका थिए । तारमा अल्झिएको अवस्थामा बेवारिसे वयस्क चितुवाको उद्दार गरिएको डिभिजन वन कार्यालय पाल्पाका डिभिजन प्रमुख मोहन पौडेलले बताए ।

डिभिजन वन कार्यालयका रेञ्जर यमलाल पोखरेलको नेतृत्वमा गएको इलाका प्रहरी कार्यालय मुझङको प्रहरी, रिव्दीकोट सब डिभिजन वन कार्यालयको टोली र स्थानीयवासीले ४ घण्टासम्म जोखिम मोलेर चितुवालाई खोरमा हाल्न सफल भएका थिए । बेहोस बनाई उद्दार गर्नुपर्ने भएपनि चितवन राष्ट्रिय निकुञ्जमा सम्पर्क गर्दा लकडाउनको कारण आउन नसकिने जानकारी भएपछि टिमले जोखिम मोलेरै चितुवाको उद्दार गरेको डिभिजन प्रमुख पौडेलले बताए । चितुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचार पछि चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको डिभिजन प्रमुख पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update