Shittalpati
रायमाझी कूलदेवता समिति तानसेनले मनायो १९ औं साधारण सभा

पाल्पा, रायमाझी कूलदेवता तानसेन नगर समितिले १९ औं साधारण सभा मनाएको छ । समितिले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो । सभाको पूर्व सांसद तथा कूल देवता समितिका केन्द्रीय सल्लाहकार यादवबहादुर रायमाझीले उद्घाटन गरेका हुन् ।

सभाको उद्घाटन गर्दै रायमाझीले सबै रायमाझी बन्धुहरुलाई समितिले एउटै छाता भित्र ल्याउने काम गर्दै आएको बताए । उनले तानसेन नगर समितिले नगरभित्र र बाहिर छरिएर रहेका रायमाझी बन्धुहरुलाई एक ठाउँमा ल्याउन खेलेको भूमिकाको प्रशंसा गरे । उनले देशैभर रायमाझी कूलदेवताको समिति गाउँ, नगर, जिल्ला र केन्द्रमा समेत रहेको बताउँदै रायमाझी बन्धुहरुलाई समितिमा ल्याई बन्धुत्वको भावनालाई जागृत गराएको बताए । उनले कमजोर अवस्था भएका बन्धुहरुलाई सहयोग गर्ने र सम्पन्न भएकाहरुबाट सहयोग जुटाउने काममा देशैभरका समितिहरु परिचालन भएको बताए । समितिका सल्लाहकार समेत रहेका रायमाझीले तत्कालिन ‘बहादुर कर्णेल’ गम्भीरसिंह रायमाझीको शालिक राख्ने योजना आफुहरुको रहेको समेत बताए । समितिका सभापति देवेन्द्रबहादुर रायमाझीले बन्धुत्वको भावना उजागर गरी अन्य समुदाय र वर्गलाई पनि एक शुत्रमा बाध्न रायमाझी बन्धुहरु उदाहरणीय र अनुकरणीय रहेको बताए । उनले रायमाझी बन्धुहरुमा परेको समस्यालाई समाधान गर्न समिति सधैव तयार रहेको धारणा व्यक्त गरे ।

समितिका केन्द्रीय सदस्य हरी रायमाझीले तानसेन नगर समितिले जेष्ठ नागरिक, विद्यार्थीहरुलाई प्रोत्साहन र विपद्मा परेका बन्धुहरुलाई उद्दारसँगै राहत उपलब्ध गराएर प्रशंसनिय कार्य गर्दै आएको बताए । उनले भने ‘समाज र देशमा एकताको सन्देश प्रवाहका लागि रायमाझी बन्धुहरु एक ढिक्का हुन जरुरी रहेको छ ।’ समितिका सल्लाहकार समेत रहेका रायमाझीले सबै नेपालीहरु एउटै भएकाले घर परिवार समाजबाटै एकताको सन्देश दिन पहिला बन्धुहरु एक भएर अगाडि बढ्न आवश्यक रहेको औल्याए । समितिका सल्लाहकार तथा पत्रकार रामचन्द्र रायमाझीले सरकारी, गैरसरकारी र निजी क्षेत्रको उच्च ओहदामा रहेर रायमाझी बन्धुहरुले नेतृत्व समालिरहेकाले उनीहरुको खोज अनुसन्धान गरी सम्पर्कमा ल्याउन पहल गर्न समितिलाई आग्रह गरे ।

कार्यक्रममा नारायण रायमाझी, केशवबहादुर रायमाझी, रुपा रायमाझी लगायतले समितिलाई अझ मजबुद र सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा समितिका सचिव खिमबहादुर रायमाझीले वार्षिकसँगै आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा समितिले विगतमा जस्तै यस वर्ष पनि विद्यार्थीलाई सम्मान गरेको छ । समितिले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सञ्जीवनी रायमाझीलाई नगद र प्रमाणपत्रले सम्मान गरेको हो । समितिका सभापति देवेन्द्रबहादुर रायमाझीको सभापतित्व, सदस्य कृष्णा रायमाझीको स्वागत, सचिव खिमबहादुर रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update