Shittalpati
टुँडिखेलमा गराइयो आगलागी सम्बन्धी कृत्रिम अभ्यास

पाल्पा, सोमबार बिहान एकाएक तानसेनस्थित टुँडिखेलमा फुसको छानो भएका घरबस्तीमा आगलागी भयो । लागुपदार्थ सेवन गरेर आएका तीन जना व्यक्तिले चुरोट सल्काएर ठुँटो फालेपछि त्यहाँ रहेको सल्लीपिलरमा आगो सल्कन गई वस्तीमै पुगेको थियो । आगलागी भएको सूचना प्रहरी कन्ट्रोलमा आयो ।

प्रहरी सेटबाट तत्कालै विपद् व्यवस्थापनलाई जानकारी गराइयो । घटना थाहा पाउने वित्तिकै नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीहरु सरसमान लिएर टुँडिखेल पुगे । आगलागीबाट दुईवटा घर जली पूर्णरुपमा नष्ट भए भने ३ जना घाइते भए । घटनास्थल खटिएका सुरक्षाकर्मीले पाइपबाट पानी हालेर आगो निभाए । आगलागी भईरहेका घर भित्र रहेका केही सरसमान, लत्ता कपडा, भाडाँ कुडा तालिम प्राप्त सुरक्षाकर्मीहरुले बाहिर निकाल्न सफल भए । बस्तीमा लागेको आगो नियन्त्रण गरी थप बस्तीमा आगलागी हुन पाएन । घाइते ३ जनालाई सुरक्षाकर्मीले प्राथमिकता उपचार गरी नेपाल रेडक्रसको एम्बुलेन्समार्फत तत्कालै उपचारको लागि अस्पताल पु¥याएको थियो । तर यो वास्तविक घटना भने होइन । जिल्ला सुरक्षा समितिको आयोजनामा विपद् आइपर्दा कसरी सतर्क रहने भनेर विपद् कृत्रिम घटना अभ्यास गरी देखाइएको हो । अभ्यास देखाइए पनि घटनामा वास्तविक साना–साना फुसको छानो भएका घरहरू निर्माण गरिएका थिए । बस्ती जस्तो बनाइएको थियो । उद्धार टोलीमा प्रहरी र सेना तथा एम्बुलेन्स तयारी थिए । अस्पतालमा स्वास्थ्कर्मी र सम्बन्धित निकायका पदाधिकारीहरू समेत तयारी थिए । कृत्रिम घटना भए पनि वास्तविक जस्तै बनाइएको थियो ।

जिल्लामा दिनदिनै आगजनीका घटना हुन थालेपछि सावधानीका लागि जनचेतना फैलाउन जिल्ला सुरक्षा समितिको आयोजना, तानसेन नगरपालिका र डिभिजन वन कार्यालयको समन्य र सहकार्यमा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास गराइएको हो । केही सातायता तानसेन नगरपालिका र अन्य स्थानीय तहका वन र वस्तीमा आगजनीका घटना भइरहेका छन् । बदलिदो मौसमका कारण फैलिने आगोबाट झन ठूलो नोक्सानी हुन सक्ने जोखिम रहेकाले विपद पूर्व तयारी अनुरुप सरोकारवाला निकायसित समन्वय गरेर टुँडिखेलमा कृतिम अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए । उनले विपत सुरक्षाकर्मी एक्लैले नियन्त्रण गर्न नसक्ने भन्दै समुदायका नागरिकहरुको समेत दायित्व रहेको उल्लेख गरे । कार्यक्रममा बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी, माथागढी  गाउँपालिकाका अध्यक्ष यम चिदी, तानसेन नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीले बेला–बेला आयोजना गरिने यस्ता सचेतनामूलक कार्यक्रमले भविष्यमा हुनसक्ने आगलागी सम्बन्धी दुर्घटनाबाट सर्वसाधरणको ज्यान जोगाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनीहरुले आगलागी नियन्त्रणमा स्थानीय सरकारलाई चुनौती रहेको बताए ।

आगलागी नियन्त्रण सचेतना डेमो सहित घरमा कुनै कारणले ग्याँस लिग भई हाल्यो भने त्यसको नियन्त्रण कसरी गर्ने सो को अभ्यास पनि गरिएको थियो । सामान्य सचेतना पनि नहुँदा दुर्घटना ठूलो हुने भएकाले घरमा ग्यास सिलिन्डर लिग हुँदा नडराई अक्सिजन नआउने गरी कम्बल वा कपडाले ढाक्ने हो भने निभ्ने कुराको अभ्यास गराइएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update