Shittalpati
पाल्पाको रिब्दीकोटमा  प्राङ्गारिक मल कारखाना निर्माण हुँदै 

पाल्पा, जिल्लाको रिव्दीकोट गाउँपालिकाको –५ को नयाँ टोलमा  प्राङ्गारिक मल कारखाना निमार्ण शुरु भएको छ । मल कारखानाको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले विधिवत रुपमा पुजापाठ गरी शिलन्यास गरेका छन् । 

जलेश्वर बहुृउद्देश्यीय सहकारी संस्थाको आयोजनामा गाउँपालिकाको आर्थिक सहयोगमा मल कारखानाको पुर्वाधार निर्माणको काम शुरु भएको छ । पालिकाभरी सबै किसिमको कृषि उत्पादन बढाउन, बाझा भएका जमिनहरुलाई हराभरा बनाउन, स्वदेशमै रोजगारी सिर्जना गर्न, मानिस स्वस्थ निरोगी बनाउदै देशलाई आर्थिक रुपमा बलियो बनाउने अभियानका साथ पालिकाको सहयोगमा मल कारखाना सञ्चालन गर्न लागिएको अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिए । ‘म बनाउछु मेरो रिब्दीकोट’ अभियान अन्र्तगत पालिका भित्र मल कारखाना बनाउने तिव्र इच्छा थियो, जुन आजबाट शुरुवात भएको छ, यो असार मसान्त भित्र सञ्चालनमा आउने र असार, साउन बाटै मल विक्रि गर्ने अभियानका साथ काम दुर्त रुपमा गरिने पालिका अध्यक्ष कार्कीले बताए । मल कारखाना सञ्चालन भएपछि पहिलो उत्पादन बजार पठाउँदा ४५ लाख  खर्च हुने भएता पनि पालिकाबाट पहिलो चरणमा १५ लाख  विनियोजन गरेको, अन्य रकम सहकारीले व्यबस्थापन गर्ने अध्यक्ष कार्कीले बताए । 

कारखाना स्थल पुगेकी पालिका उपाध्यक्ष कान्ता अधिकारीले अहिले रासायनिक तथा जैविक कुनै पनि मल किसानले भनेको समय नपाउदा प्रयाप्त मात्रामा उत्पादन नभएको अवस्थामा अर्गानिक उत्पादनको लागि पालिकाले जैविक  मल कारखाना सञ्चालन गर्न लागेको बताईन । अहिले व्यवसायिक कृषि गर्न खोजे पनि मलको अभाव भईरहेको अवस्थामा मल कारखाना सञ्चालनले ठूलो राहत मिल्ने उपाध्यक्ष अधिकारीले बताईन । 
     प्रमुख प्रशासकीय अधिकृत मणी प्रसाद खनालले रिब्दीकोटको पहिचान नै कृषि हो, कृषि उत्पादन स्वस्थ, गुणस्त बनाउन पालिकाले नै गत बर्ष देखी बजेट विनियोजन गरेको भएपनि यस बर्ष कार्यान्वयनमा आएको बताए । मल कारखानाबाट यस क्षेत्रमा उत्पादन बृद्धि हुने, स्थानीयले रोजगारी पाउने, प्रमुख प्रशासकीय अधिकृत खनालले बताए । पत्रकार यज्ञमुर्ति तिमिल्सीनाले जिल्लामै पहिलो पटक मल कारखाना सञ्चालन हुन लागेकाले यसले जिल्लाभरीका किसानहरुलाई फाईदा पुग्ने बताए । 

प्राङ्गारिक मल कारखानाका विज्ञ यमबहादुर दर्लामीले हाम्रा खेतबारीमा अर्गानिक उत्पादन बढाउन, मानिसलाई स्वस्थ्य निरोगी बनाउन,  कृषि उत्पादन बढाउन, मरेको माटोलाई जगाउन, पाल्पामा पहिलो पटक प्राङ्गारिक मल कारखाना सञ्चालन गर्न लागिएको बताए । सरकारले अरर्वौंको रासायनिक मल खरिद गरेको छ तर पनि चाहेजस्तो उत्पादन हुन सकेको छैन । सरकारले पैसा तिरेर रोग निम्ताई रहेको छ सोही रासायनिक मलकै कारण अरवौं स्वास्थ्य क्षेत्रमा औषधी उपचार खचिर्नु पर्ने बाध्यतालाई कम गर्न यस्ता प्राङ्गारिक मल कारखानाले सहयोग पुग्ने विज्ञ दर्लामीले बताए । मल कालखानाबाट बार्षिक रुपमा २ सय ५० टन भन्दा जैविक मल उत्पादन गर्ने र विक्रि गर्ने योजना सहकारीको रहेको छ । 

मल कारखानाको शिलन्यास सहकारीका अध्यक्ष नरायण बहादुर लामटाङ्गेको अध्यक्षता र सचिव कृष्ण बहादुर कुवँरको सञ्चालनमा भएको थियो । मल कारखानामा गाईभैसीको गोवर, स्थानीय झारपात, खसेका पात पतिङ्ग, हरिया घास तथा सेउला लगायत स्थानीय कच्चा पदार्थको प्रयोग गरिने छ । मल कारखानाको माध्यमबाट पालिका भित्रका हजारौ रोपनी बाझा खेतबारी प्रयोगमा आउने विश्वास गाउँपालिकाले गरेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update