Shittalpati
तानसेन –३ मा पनि जेष्ठ नागरिक संघ गठन

पाल्पा, जिल्लाको तानसेन नगरपालिका –३ मा पनि जेष्ठ नागरिक संघ गठन भएको छ । संघको प्रथम भेलाले वडामा संघ गठन गरेको हो ।

जसको अध्यक्षमा मानबहादुर नेपाली, उपाध्यक्षमा सीता श्रेष्ठ, सचिवमा राजेन्द्र अधिकारी,  कोषाध्यक्षमा चन्द्र लक्ष्मी श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । संघको सदस्यहरुमा सुनिल थापा क्षेत्री, गोपाल राज शाक्य, लाल चन्द्र शाक्य, विजय लक्ष्मी बैजु, सरस्वती भट्टराई, लक्ष्मी नेपाल र सरस्वती भट्टराई रहेका छन् । यस्तै सल्लाहकारमा त्रिरत्नलाल शाक्य, शुसिला श्रेष्ठ, मनमोहन श्रेष्ठ, अच्युतराज शर्मा र सोमप्रसाद पौडेल रहेका छन् ।

भेलाको जेष्ठ नागरिक संघ पाल्पाका सभापति देवराज ढकालले उद्घाटन गरेका हुन् । कार्यक्रमको  उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका ढकालले २०६९ सालमा स्थापना भएको संघले जिल्लामा जेष्ठ नागरिकहरुको हकहित र अधिकारका विषयमा सक्रिय भएर काम गर्दै आएको बताए । उनले संघलाई थप बलियो र सबै जेष्ठ नागरिकलाई समाहित गर्ने उद्देश्यले जिल्लाका १० वटै स्थानीय तहमा वडा तहबाट समिति गठन गर्ने कार्यलाई तिव्रता दिएको उल्लेख गरे । सभापति ढकालले हालसम्म रामपुर नगरपालिकाका सबै वडा र तानसेनका केही वडाहरुमा संघ गठन भइसकेको भन्दै छिट्टै नै सबै पालिका र  वडा तहमा संघ गठन हुने बताए । उनले भने “उमेर ढल्कदै जाँदा जेष्ठ नागरिक सबैबाट अपहेलित हुँदै जाने गरेका छन् । उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्ने वातावरण बनाउन हामी लागि परेका छौं । अब सबै वडा वडामा संघ गठन गरेर जेष्ठ नागरिकलाई एकत्रित गर्ने छौं ।”

तानसेन – ३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले  संघले वडा कार्यालयसँग समन्वय गरेर समिति गठन गरेकोमा धन्यवाद दिर्दै भोलीका दिनमा वडाबाट आवश्यक सहयोग गर्ने र संघसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । कार्यक्रममा यादवराज शर्मा, सुशिला श्रेष्ठ, त्रिरत्नलाल शाक्य लगायतले  जेष्ठ नागरिकहरुको समस्याप्रति ध्यान  दिन संघलाई आग्रह गरे ।वडा अध्यक्ष बाबुरत्न शाक्यको अध्यक्षता, वडा सदस्य लक्ष्मी पाण्डेको स्वागत, वडा सचिव मिरा क्षेत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो । यस अघि तानसेन नगरपालिका – ६ मा संघ गठन भएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update