Shittalpati
गुल्मीमा पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान रोक

रमेश विश्वकर्मा
गुल्मी । गुल्मीमा पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि निषेधाज्ञा नै जारी गरि पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान रोक लगाएको हो । सोमबार प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले एक सूचना जारी गर्दै सम्पूर्ण शक्तिपिठ तथा मन्दिरहरुमा नित्य पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान सर्वसाधारणलाई निषेधाज्ञा जारी गरिएको बताए ।

उनले अर्को सूचना जारी नभएसम्म सर्वसाधारणलाई मन्दिर नजान आग्रह गरे । तीव्र रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) को संक्रमण जिल्लाका विभिन्न स्थानहरूमा फैलिरहेकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दसंै लगायतका चाडपर्वमा जिल्लामा रहेका सम्पूर्ण शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान सर्वसाधारणका लागि निषेधाज्ञा जारी गरिएको प्रजिअ शर्माले बताए । जिल्लावासीलाई आफ्नै घरमा पुजापाठ र वली दिने कार्य गर्न समेत प्रजिअ शर्माले आग्रह गरे । उनले भने, ‘निषेधाज्ञाको अवज्ञा वा उल्लंघन गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम कानुनी कारवाही गरिनेछ ।’

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update