Shittalpati
लगानी सम्मेलनको सार्थकता

नेपालमा लगानीका सम्भावना खोज्नका लागि आइतबारदेखि लगानी सम्मेलन राजधानीमा शुरु भएको छ । मुलुकमा आर्थिक गतिविधि चलायमान नभएर अर्थतन्त्रमा शिथिलता कायम रहेकै बेला सरकारले लगानी सम्मेलन गर्दैछ । जतिसक्दो धेरै लगानी प्रवद्र्धनको लक्ष्यसहित आइतबार र सोमबार लगानी सम्मेलन हुनेछ । खासगरी मुलुकलाई आवश्यक परेका तर स्वदेशी लगानीले धान्न नसक्ने परियोजनामा विदेशी लगानी जुटाउने लक्ष्यसहित सरकारले बेला–बेलामा यस्ता सम्मेलन गर्दै आएको छ । अहिलेको यो लगानी सम्मेलन तेस्रो हो । यसपाली लगानी सम्मेलन गर्ने निर्णय गत कात्तिकमै भएको थियो । तर बेलैमा तयारी अघि नबढाइदा आखिरीतिर हतारो भएजस्तो देखिएको छ । जे होस् वैदेशिक र आन्तरिक लगानीलाई प्रवद्र्धनका साथै लगानीकर्ताका लागि उपयुक्त र लगानी सुरक्षणको व्यवस्थापन सरकारले गर्ने विषयका प्रतिवद्धतालाई मध्ये नजर गरेर गर्ने कार्यका लागि भावी रणनीति र योजना निर्माणका काममा यो सम्मेलनले महत्वपूूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । उद्योग, वाणिज्यका साथै शिक्षा र स्वास्थ्य अनि पर्यटनका क्षेत्रमा पनि यस्ताखालका लगानीहरु आफैमा अत्यन्तै महत्वपूर्ण हुने खालका भएको खण्डमा मात्रै यो सम्मेलनले सार्थकता प्राप्त गर्न सक्छ । अन्यथा केवल प्रचारवाजी र गर्नका लागि गरिएको भन्ने बाहेक केही पनि हुन सक्दैन ।

नेपालले उद्दार र आर्थिक नीति प्रतिको प्रतिवद्धताका साथ लगानी कर्ताको लगानीलाई पारदर्शी र सुरक्षित गर्दै अगाडि बढ्न तयार भएको कुरालाई प्रतिवद्धताका साथ त्यो कार्यान्वयनमा समेत जोड दिएको खण्डमा मात्रै देशले औद्योगिक क्रान्ति गर्ने अवसर प्राप्त गर्ने छ । अन्यथा खाली गफ र कानूनी अड्चनमै रुमालिनुपर्ने बाध्यता भयो भने समस्याका पहाडहरु झन् भन्दा झन् उचो भएर ठडिने बाहेक केही पनि हुन सक्दैन । लगानीका लागि नेपाल उपयुक्त गन्तव्य हुन सक्छ तर त्यसका लागि लगानी कर्ताहरुको सम्मान, सुरक्षा अनि मुनाफाको प्रतिफल प्राप्त गर्ने अधिकारहरु स्पष्ट हुनुपर्ने हुन्छ । दूरसञ्चार प्रदायक कम्पनी एनसेल विक्री र करका विषयमा भएका झमेला अनि विवादका कारण भएका समस्याहरुलाई आज पनि दृष्टान्तका रुपमा अगाडि बढाउनुको कुनै पनि विकल्प छैन । स्वदेशी र विदेशी लगानीका सम्भावनालाई आवश्यकता अनुसार नीति र विधिमा कार्यान्वयन गर्ने वातावरणको अवस्था बनाउन लागि सरकारले यो सम्मेलनको भरपुर उपयोग गर्नुपर्छ यसो भयो भने मात्र सम्मेलनले सार्थकता प्राप्त गर्दछ ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update