विदुर घिमिरे
मानिसको जीवनमा अनेकौँ नातासम्बन्ध हुन्छन्। कोही समयसँगै नजिक हुन्छन्, कोही टाढिन्छन्। कतिपय सम्बन्ध स्वार्थमा टिकेका हुन्छन्, कतिपय परिस्थितिले बनाउँछन् र परिस्थितिसँगै बदलिन्छन्। तर संसारमा दुई यस्ता सम्बन्ध छन्, जहाँ आफ्नोभन्दा अरूको भविष्य ठूलो हुन्छ बाबुआमा र गुरु । मानिसले प्रायः अरुभन्दा आफु अगाडि बढ्न चाहन्छ। आफू जित्न चाहन्छ, आफू सफल हुन चाहन्छ, आफू सबैभन्दा जान्ने देखिन चाहन्छ। तर बाबुआमा र गुरु त्यस्ता दुई पात्र हुन्, जसले आफूभन्दा सन्तान र विद्यार्थी अगाडि बढेको हेर्न चाहन्छन्।आफूभन्दा जान्ने, बुझ्ने, सक्षम र सफल बनेको देख्दा उनीहरूलाई ईष्र्या होइन, गर्व हुन्छ। यही नै उनीहरूको महानता हो।
बाबुआमा : आफू जलेर सन्तानलाई उज्यालो दिने सम्बन्ध
बाबुआमा त्यस्ता व्यक्ति हुन्, जसले आफूले नखाएर सन्तानलाई खुवाउन खोज्छन्।आफूले राम्रो लाउन नसके पनि सन्तानलाई राम्रो लगाउन चाहन्छन्। आफूले पढ्न नपाए पनि छोराछोरीले पढून्, आफूले दुःख पाएको जीवन सन्तानले भोग्न नपरोस् भन्ने चाहन्छन् । सन्तान बिरामी हुँदा उनीहरूको निद्रा हराउँछ। सन्तान दुःखी हुँदा उनीहरूको मन दुख्छ। सन्तान सफल हुँदा आफ्नो जीवन सफल भएको अनुभूति गर्छन्। उनीहरू भगवानसँग पनि आफ्ना लागि होइन, सन्तानको सुख, सफलता र उज्ज्वल भविष्यका लागि दैनिक जसो प्रार्थना गर्ने गर्छन् । त्यसैले जीवन सार्थक बनाउन ठूलो मन्दिर खोज्दै हिँड्नुपर्दैन् । जिउँदा बाबुआमाप्रतिको कर्तव्य पूरा गर्नु नै ठूलो धर्म हो ,कर्तव्य हो, जिम्मेवारी हो ।
आजको सबैभन्दा पीडादायी दृश्य यही हो कतिपय बाबुआमा साझ प¥यो कि आफ्ना सन्तानको बाटो हेर्दै घरको आँगन, बार्दली , झ्यालमा बसेर सन्तान आउने बाटो हेरेर बसेका हुन्छन् विदेशमा होस् वा आफ्नै देशमा, उनीहरूलाई ठूलो अपेक्षा हुँदैन। उनीहरू सम्पत्ति माग्दैनन्, महँगा उपहार माग्दैनन्। उनीहरूलाई त केवल एक फोन, केही समयको साथ, “बा, आमा खाना खानुभयो?” भन्ने एउटा प्रश्न र कहिलेकाहीँ नजिकै बसेर गरिने केही मिनेटको कुराकानी नै पर्याप्त हुन्छ । बिरामी पर्दा छोराछोरीले अस्पताल पु¥याइदिए हुन्थ्यो। औषधि खुवाइदिए हुन्थ्यो। खाना खान बस्दा आउनुस्, सँगै खाऔँ भनिदिए हुन्थ्यो। यति सामान्य चाहना बोकेर बाबुआमाले आफ्नो सम्पूर्ण जीवन सन्तानलाई दिएका हुन्छन् । तर विडम्बना के छ भने, हामीसँग संसारका धेरै मानिसका लागि समय हुन्छ, सामाजिक सञ्जालका लागि समय हुन्छ, साथीभाइका लागि समय हुन्छ, तर कहिलेकाहीँ आफ्नै बाबुआमाका लागि केही मिनेट हुँदैन। हाम्रो ध्यान त्यता जादैन । सम्पत्ति कमाउन विदेश जाने सन्तानले एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन पैसा पठाएर कर्तव्य पूरा हुन्छ, तर बाबुआमाको मन यसरी कहिल्यै भरिँदैन। उनीहरूलाई पैसा मात्र होइन, आफ्नो सन्तानको उपस्थिति, आवाज र आत्मीयता निरन्तर खोजिरहेका, पर्खिरहेका हुन्छन्
गुरु :आफूभन्दा ठूलो विद्यार्थी देख्न चाहने महान् सम्बन्ध
बाबुआमापछि जीवनमा अर्को निःस्वार्थ सम्बन्ध हो गुरु नै हो
हामी खेल खेल्दा आफैँ जित्न चाहन्छौँ। बहस गर्दा आफैँ सही देखिन चाहन्छौँ।जीवनमा अरूभन्दा अगाडि बढ्न चाहन्छौँ। तर गुरु त्यस्ता व्यक्ति हुन्, जसले आफ्ना विद्यार्थी आफूभन्दा धेरै जान्ने र बुझ्ने बनून् भन्ने चाहन्छन् । गुरुले विद्यार्थीलाई ज्ञान दिन्छन्, बाटो देखाउँछन् र अन्ततः आफूलाई उछिनेर अगाडि बढेको हेर्न चाहन्छन्। विद्यार्थी ठूलो पदमा पुगेको, सफल भएको र समाजमा सम्मानित भएको देख्दा गुरु आफू पछि परेको महसुस गर्दैनन्; बरु आफ्नो शिक्षाको सफलता ठान्छन् । गुरुको सबैभन्दा ठूलो पुरस्कार विद्यार्थीको सफलता ठान्छन् । त्यसैले गुरु केवल अक्षर चिनाउने व्यक्ति होइनन् । उनी जीवनको बाटो देखाउने दीप हुन्। कहिलेकाहीँ एउटा शिक्षकले दिएको एउटा वाक्य, एउटा सुझाव वा एउटा अनुशासनले मानिसको सम्पूर्ण जीवनको दिशा बदलिदिन्छ।
हामीले सम्झनुपर्ने दुई ऋण
बाबुआमाको ऋण तिर्न सकिँदैन् । गुरुले दिएको ज्ञानको मूल्य पनि पैसाले तिर्न सकिँदैन् । तर उनीहरूको सम्मान गर्न सकिन्छ, उनीहरूको मन दुख्न नदिने प्रयास गर्न सकिन्छ र उनीहरूले देखाएको बाटोमा हिँडेर जीवन सफल बनाउन सकिन्छ।बाबुआमा र गुरुको सम्मान गर्न कुनै विशेष दिन कुर्नु आवश्यक छैन। बाबुआमा जिउँदै हुँदा उनीहरूको हात समाऔँ। गुरु जिउँदै हुँदा उहाँको सम्मान गरौँ। मृत्यु भएपछि श्रद्धाञ्जली दिनुभन्दा जीवनभर सम्मान गर्नु ठूलो कुरा हो । आज हामीले एउटा प्रश्न आफैँलाई सोध्न आवश्यक छ हामीले बाबुआमालाई साँच्चै समय दिएका छौँ ? हामीले गुरुलाई सम्झेर सम्मान गरेका छौँ ? यदि उत्तर कमजोर छ भने सुधार गर्ने समय अझै गएको छैन।किनकि बाबुआमा र गुरु हाम्रो जीवनका ती दुर्लभ सम्बन्ध हुन्, जहाँ हाम्रो सफलता उनीहरूको हार होइन; हाम्रो उचाइ उनीहरूको सबैभन्दा ठूलो खुसी हो। त्यसैले जीवनमा धेरै मानिसलाई जित्न खोज्नुभन्दा बाबुआमाको मन जितौँ। धेरै ठाउँमा सम्मान खोज्नुभन्दा गुरुप्रति सम्मान व्यक्त गरौँ। धन, पद र प्रतिष्ठाले जीवन सुविधा सम्पन्न बनाउन सक्छ; तर बाबुआमाको आशीर्वाद र गुरुको ज्ञानले मात्र जीवनलाई अर्थपूर्ण बनाउन सकिन्छ । जिउँदा बाबुआमाको काख र गुरुको आशीर्वादभन्दा ठूलो सम्पत्ति जीवनमा सायद अरू केही हुँदैन । बाबु आमा र गुरु मेरो जीवनको वास्तविक आर्दश हुन उनीहरु प्रति म सदैव नमन गर्दछु । उनीहरु प्रति म सदैव कृतज्ञ छु हुनेछु । बाबु आमा र गुरु ।

