Shittalpati
अवैध लागूऔषध सहित १९ जना पक्राउ

पाल्पा, देशका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा अवैध तथा नियन्त्रित लागूऔषध बरामद गर्नुका साथै १९ जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार र बुधबार गरेको छुट्टाछुट्टै कारबाहीका क्रममा हेरोइन, ब्राउनसुगर, गाँजा तथा विभिन्न नियन्त्रित औषधि बरामद गरेको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, दाङ, सिराहा, मकवानपुर, कैलाली, कञ्चनपुर, पर्सा,सुर्खेत, काठमाडौं लगायतका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १९ जना पक्राउ परेका हुन् । रूपन्देहीको बुटवल उपमहानगरपालिका–९ नयाँ बसपार्कबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १० किलोग्राम सहित धादिङ गजुरी गाउँपालिका–९ कुबिन बस्ने ५० वर्षीय रण बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम र नगद ४ हजार ७ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका–९ बस्ने २४ वर्षीय सन्दिप कठायतलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले बेलुवाबाट रानीजरूवातर्फ आउँदै गरेको प्रदेश–०२–००२ प ३८८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस्तै सिराहाको धनगढीमाई नगरपालिका–९ मुसहर्नियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५४ किलोग्राम सहित औरही गाउँपालिका–४ कमलपुर बस्ने २८ वर्षीय बिक्रम यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले नैनपुरबाट मुसहर्नियातर्फ आउँदै गरेको प्रदेश २–०१–००४ प ८३६४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यस्तै काठमाडौं महानगरपालिका–१४ कलंकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम र नगद १८ हजार ५ सय ३० रूपैयाँ  सहित काठमाडौं बाफल बस्ने चितवन भरतपुर महानगरपालिका–१४ घर भएका २८ वर्षीय अञ्जन विकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ७० मिलिग्राम, गाँजा जस्तो देखिने पदार्थ ५३ ग्राम ४ सय ७० मिलिग्राम र तराजु १ थान फेला पारी प्रहरीले बरामद गरेको छ । 

यसैगरी काठमाडौंकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ किलोग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पञ्जाव घर भएका ३९ वर्षीय विक्रान्त वर्ता र प्युठान घर भएका २७ वर्षीय बम बहादुर घर्ती मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सिंगापुर एयरबाट काठमाडौं आगमन भएका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका–३१ कात्यानीचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम र नगद १० हजार रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भोजपुर घर भएका २२ वर्षीय राजेन्द्र विष्ट र ललितपुर महालक्ष्मी नगरपालिका–६ घर भएका २२ वर्षीय दिपेश महर्जन रहेका छन् । प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले राजेन्द्रको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ सल्लाघारी बस्ने ३४ वर्षीय अर्जुन विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  उता पर्साको वीरगंज महानगरपालिका–१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८१ ग्राम ३७ मिलिग्राम सहित जगरनाथपुर गाउँपालिका–६ बहुअरी प्रसौनी बस्ने ३९ वर्षीय अजय प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको रुबा.१८ च ९००३ नम्बरको कार समेत बरामद गरेको छ ।  

यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–११ भुसकलुवाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६ सय ८० ट्याब्लेट र डाइक्लोमाइन १ हजार ५ सय ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई  प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–१३ बाट अवैध लागूऔषध गाँजा १० किलो ३० ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका–१२ बस्ने ५० वर्षीय विजय चौधरी र धरान उपमहानगरपालिका–२० बस्ने २१ वर्षीया अञ्जली राई रहेका छन् । प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले को.२ ह ४९७२ नम्बरको अटो तलासी गर्दा उक्त पदार्थ फेला पारी चालक बिजय र अटोमा सवार अञ्जलीलाई पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका–१५ त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट  सहित सोही उपमहानगरपालिका–५ देउराली बस्ने २२ वर्षीय सूर्य लावतीलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका–१० डुमटकाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट र डाइक्लोमाइन ४० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय आशिष सरदालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, कृष्णपुर नगरपालिका–५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ९० मिलिग्राम सहित सोही नगरपालिका–६ बसन्तपुर टोल बस्ने २७ वर्षीय मोहन देव जोशीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update