भाषा केवल विचार र भावना व्यक्त गर्ने माध्यम मात्र होइन, यो कुनै समाजको इतिहास, संस्कृति, ज्ञान र पहिचानको आधार पनि हो। नेपालको धार्मिक, सांस्कृतिक तथा शैक्षिक परम्परामा संस्कृत भाषाको महत्वपूर्ण स्थान रहेको छ । वेद, उपनिषद्, पुराण, रामायण, महाभारत, आयुर्वेद, दर्शन तथा व्याकरणजस्ता अमूल्य ज्ञानका धेरै स्रोत संस्कृत भाषामै सुरक्षित छन्। त्यसैले संस्कृतको संरक्षण गर्नु हाम्रो प्राचीन ज्ञान र सांस्कृतिक सम्पदाको संरक्षण गर्नु पनि हो। तर पछिल्लो समयमा संस्कृत भाषाको प्रयोग र अध्ययन क्रमशः सीमित हुँदै गएको देखिन्छ।आधुनिक शिक्षा, प्रविधि र विदेशी भाषाको बढ्दो प्रभावसँगै नयाँ पुस्तामा संस्कृतप्रतिको रुचि घट्नु चिन्ताको विषय हो।संस्कृतलाई केवल धार्मिक कर्मकाण्डसँग जोडेर हेर्ने प्रवृत्तिले पनि यसको व्यापक ज्ञानपरम्परा ओझेलमा परेको छ। संस्कृत भाषाको संवद्र्धन तथा प्रवद्र्धनका लागि हरेक विश्व संस्कृत दिवस मनाउने गरिन्छ ।प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (जनैपूर्णिमा) को दिन पारेर यो दिवस मनाउने गरिएको हो । आज पनि यो दिवस मनाइँदै छ । तर हरेक वर्ष दिवस मनाउने गरिए पनि संस्कृत भाषा लोप हुँदै गएको छ ।
संस्कृत दिवस मनाउनु भनेको एउटा भाषाको स्मरण गर्नु मात्र नभई आफ्नो ज्ञान–सम्पदा र सांस्कृतिक पहिचानप्रति सम्मान व्यक्त गर्नु हो । नेपालको इतिहास र संस्कृतिसँग पनि संस्कृत भाषाको गहिरो सम्बन्ध छ। धार्मिक ग्रन्थ, शिलालेख, साहित्य तथा विभिन्न संस्कार–परम्परामा संस्कृतको महत्वपूर्ण योगदान रहेको छ। संस्कृत भाषामा निहित ज्ञान आज पनि शिक्षा, दर्शन, योग, आयुर्वेद तथा साहित्यका क्षेत्रमा उपयोगी छ।नयाँ पुस्तामा संस्कृतप्रतिको आकर्षण बढाउन यसलाई केवल कर्मकाण्ड वा पुरानो भाषाका रूपमा प्रस्तुत गर्नु पर्याप्त हुँदैन । विद्यालय तथा विश्वविद्यालयमा यसको अध्ययनलाई व्यावहारिक र रुचिकर बनाउन आवश्यक छ। संस्कृत साहित्य, विज्ञान, दर्शन र व्याकरणको आधुनिक प्रविधिसँग सम्बन्ध स्थापित गर्नुपर्छ।
डिजिटल माध्यमबाट संस्कृतका पुस्तक, पाण्डुलिपि र ज्ञानसामग्री सुरक्षित तथा सहज रूपमा उपलब्ध गराउनुपर्छ। साथै, संस्कृतमा नयाँ साहित्य, अनुसन्धान र सिर्जनालाई प्रोत्साहन गर्दै युवापुस्तालाई यस भाषातर्फ आकर्षित गर्नुपर्छ।संस्कृतलाई संरक्षण गर्नु विगतमा फर्किनु होइन; आफ्ना जरा बलियो बनाउँदै भविष्यतर्फ अघि बढ्नु हो। आधुनिक भाषाहरूको विकाससँगै संस्कृतलाई पनि समयअनुकूल प्रयोग र अध्ययनको वातावरण दिन सके यसको समृद्ध परम्परा नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सकिन्छ। संस्कृत भाषाको संरक्षण र प्रवद्र्धन गर्नु भनेको हाम्रो इतिहास, संस्कृति र ज्ञान–सम्पदाको संरक्षण गर्नु पनि हो। तसर्थ सरकार, शैक्षिक संस्था, विद्वान्, अभिभावक र विद्यार्थी सबैले संस्कृत भाषाको संरक्षणमा आ–आफ्नो भूमिका निर्वाह गर्दै संस्कृत भाषा संरक्षणमा लाग्न जरुरी छ ।
