Shittalpati
जिल्ला क्रिकेट संघ पाल्पाको अध्यक्षमा शाक्य

पाल्पा,जिल्ला क्रिकेट संघ पाल्पाको अध्यक्षमा पूर्णराज शाक्य निर्विरोध निर्वाचित भएका छन् । शनिबार तानसेनमा भएको संघको १९औँ साधारण सभा तथा पाँचौँ जिल्ला अधिवेशनले आगामी कार्यकालका लागि शाक्यलाई अध्यक्षमा चयन गरेको हो । लामो समय संघमा आवद्ध रहेर जिल्लाको क्रिकेट खेलको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका शाक्यलाई संघमा  इमान्दारितापूर्वक काम गरेका कारण  अध्यक्षको जिम्मेवारी दिइएको संघले जनाएको छ । अध्यक्षमा चयन भएसँगै शाक्यले शितलपाटी डटकम सँगको कुराकानीमा आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने सम्पूर्णलाई आभार व्यक्त गरेका छन् । उनले जिल्लामा क्रिकेट खेलको विकास र विस्तारलाई प्राथमिकतामा राख्दै नयाँ कार्यसमितिले सबै पक्षसँग समन्वय गरेर अघि बढ्ने बताए । “जिल्लाभित्र क्रिकेटका गतिविधिलाई अझ प्रभावकारी बनाउँदै युवा प्रतिभाको पहिचान, प्रशिक्षण र अवसर सिर्जना गर्ने दिशामा हाम्रो ध्यान केन्द्रित हुनेछ,” अध्यक्ष शाक्यले भने ।

उनले क्रिकेट पूर्वाधार विकास, नियमित प्रतियोगिता सञ्चालन तथा खेलाडीको क्षमता अभिवृद्धिका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे । साथै, जिल्ला क्रिकेट संघलाई पारदर्शी, उत्तरदायी र सबैको साझा संस्थाका रूपमा विकास गर्दै क्रिकेटप्रेमीहरूको अपेक्षा पूरा गर्ने प्रयास गरिने समेत उनको भनाइ छ । अध्यक्ष शाक्यले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूसँग सहकार्य गर्दै जिल्लाको क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउनन आफू प्रतिबद्ध रहेको  बताए । “सबैको साथ, सहयोग र सुझावलाई आत्मसात् गर्दै जिल्लाको क्रिकेट विकासका लागि एकताबद्ध भएर काम गर्नेछौँ,” उनले भने । संघको उपाध्यक्षमा शैलेन्द्र भट्टराई, सचिवमा बिनोद नेपाल, कोषाध्यक्षमा सचिन राना चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा उपेन्द्र नेपाल, राजीव श्रेष्ठ, सुरेश गोदार, ओमबहादुर थापा, राजेन्द्रमान शाक्य, मेलिना थापा र मोना थापा चयन भएका छन् ।

अधिवेशनको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य राजु महर्जनले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै उनले पाल्पाको खेल क्षेत्रको विकासमा क्रिकेट संघले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताए ।  महर्जनले जिल्लाको खेललाई थप चलायमान बनाएर लैजान नयाँ नेतृत्वलाई आग्रह गरे । कार्यक्रममा क्रिकेट संघ लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष  विनयराज भण्डारी, क्यानका केन्द्रीय सदस्य प्रदीप मजगैया, माथागढी गाउँपालिकाका खेलकूद संयोजक  तेज घर्ती मगर, प्याब्सनका केन्द्रीय सदस्य भरत न्यौपाने लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । अधिवेशनमा निर्वाचन समितिका रुपमा केशवराज अधिकारीको  संयोजकत्वमा खुमबहादुर बयम्बु र अच्छुत खनाल सदस्य रहेका थिए । कार्यक्रममा कोषाध्यक्ष हुमबहादुर रानाले संघको आयव्यय प्रस्तुत गरेका थिए । संघका कार्यावाहक अध्यक्ष शैलेन्द्र भट्टराईको अध्यक्षता, सचिव विनोद नेपालको सञ्चालनमा उद्घाटन सत्र कार्यक्रम भएको थियो ।  

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update