Shittalpati
रसुवामा बाढीको वितण्डा

काठमाडौं, बुधबार बिहान रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले टिमुरे बजारदेखि रसुवागढी नाकासम्म ठूलो विनाश मच्चाएको छ ।  बाढीले  मानविय क्षतिसँगै घर, पसल, सरकारी कार्यालय, प्रहरी चौकी, भन्सार यार्ड, पुल तथा सडक संरचनामा क्षति पु¥याएको छ भने ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन् । 

बाढीको प्रभाव नुवाकोट, धादिङ हुँदै त्रिशूली नदी आसपासका क्षेत्रमा समेत फैलिएको छ । बाढीका कारण  यो समाचार तयार पार्दासम्म  मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ । अहिलेसम्म ७२ जनाको शव भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले बताए । रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित नदी तटिय क्षेत्रमा शव भेटिएको हो । भेटिएका शवहरूको पहिचान खुलाउने प्रयास भइरहेको डीआईजी काफ्लेले जानकारी दिए । बाढीमा परेका २८ जना प्रहरी कर्मचारी सम्पर्कमा छैनन् । बुधबार बिहान ९ बजेतिर चीनको तिब्बत तर्फबाट आएको ल्हेन्दे खोलाको बाढी रसुवाको भोटेकोशीमा मिसिएर ठुलो क्षति पुगेको हो ।  

बाढीका कारण रसुवाको टिमुरे र मैलुङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरू पनि सम्पर्कविहीन भएका छन् । बाढीका कारण प्रभावित भएकाहरुलाई सुरक्षाकर्मीहरुले उद्धार गरिरहेका छन् । अहिलेसम्म ८८ जनालाई रसुवाबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । ६ वटा हेलिकप्टरबाट बाढी प्रभावितहरूको उद्धार गरेको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।
 

६ जिल्ला संकटग्रस्त घोषणा
घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गर्दै मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट विपद्बाट बढी प्रभावित ६ जिल्लाहरू रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । यस्तै सरकारले विभिन्न राहत र उद्धारका निर्णयहरू पनि गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बाढीबाट ज्यान गुमाउनेका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।सरकारले बाढीमा परी घाइते भएकाहरूको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूलाई समन्वय गर्न निर्देशन दिइएको छ । 
 

नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल
रसुवामा आएको अचानकको बाढीका कारण नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवलपरासी पश्चिमको सुस्तासहित नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेका छन् । बाढीका कारण नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने र त्यसबाट सुस्ता क्षेत्रसमेत प्रभावित हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मुख्यमन्त्री आचार्यले सम्बन्धित निकायलाई आवश्यक तयारीसहित उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।  मुख्यमन्त्री आचार्यले प्रदेशका तीनवटै सुरक्षा निकाय तथा सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूसँग नियमित सम्पर्कमा रही बाढीको अवस्थाबारे जानकारी लिइरहेका छन् । सम्भावित जोखिमलाई मध्यनजर गर्दै तटीय तथा जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आए तत्काल त्यसका लागि तयारी अवस्थामा रहनसमेत निर्देशन दिएका छन् ।
 

हिमपहिरो वा हिमताल विस्फोटल बाढी आएको आकलन
ल्हेन्दे खोलामा हिमपहिरो खसेर खोला थुनिँदा भोटेकोशीमा बाढी आएको प्रारम्भिक आकलन गरिएको विज्ञहरुले बताएका छन् । नेपाल र तिब्बत क्षेत्रमा रहेका हिमताल फुटेको सम्भावना पनि रहेकाले बाढीको यकिन कारण पत्ता लगाउन केही दिन लाग्ने बताइएको छ ।  यसअघि गत वर्ष असार २४ गते भोटेकोशीमा आकस्मिक बाढी आएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार हिमताल विस्फोटबाटै रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको निष्कर्ष निकालेको थियो । विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएको थियो ।


 

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update