Shittalpati
पुनर्निर्माणमा विलम्ब नगर

भूकम्प गएको ९ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ६ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पले नेपालीको जीवन र मानसिकतामा कहिल्यै नविर्सिने घाउहरु छाडेको तितो यथार्थ छ । झण्डै ९ हजार मानिसको ज्यान लिनेगरी गएको भूकम्पका कारण ५ लाखभन्दा बढी घरबार क्षतिग्रस्त बने । भूकम्पमा परी २२ हजारभन्दा बढी घाइते भएका थिए । भूकम्प गएको ९ वर्ष बितिसक्दा पनि अझै ९२ हजार परिवारका घर पुनर्निर्माण हुन सकेको छैन् । उक्त अवधिमा विश्वसम्पदा सूचीमा सूचीकृत केही सम्पदाहरु अझै बन्न सकेका छैनन् । तथ्याङ्कअनुसार ९ वर्षमा ध्वस्त र क्षतिग्रस्त ९ सय २० मध्ये वर्षमा ४ सय ७० सम्पदा मात्र पुनर्निर्माण भइसकेका छन् । मागअनुसार बजेट उपलब्ध नुहँदा केही सम्पादहरु अलपत्र देखिन्छन् । सरकारले आवश्यक बजेट उपलब्ध गराएर पुनर्निर्माण नभएका सम्पदा, भवन तथा घरहरु गराउनुपर्छ । नेपाललाई भूकम्पीय क्षतिका हिसावमा जोखिम पूर्ण मानिएको छ । विनासकारी भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणको क्रम अहिले पनि जारी रहेको छ । यतिका वर्ष हुँदा पनि अझै पूर्ण रुपमा पुनर्निर्माण हुन नसक्नु दुःखद् हो ।

सरकारले क्षतिग्रस्त भवन तथा सम्पदाहरुको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेर काम अगाडि बढाएको थियो । अवधि समाप्त भएपछि प्राधिकरण २०७८ पुसमा खारेज भइसकेको छ । तर पुनर्निर्माणको काम भने अझै सकिएको छैन । प्राधिकरण खारेजपछि निर्माणको जिम्मा सम्बन्धित निकायलाई दिइए पनि काम सुस्त छ । निजी आवास पुनर्निर्माणको काम झण्डै ९० प्रतिशत सकिएको छ । तर शिक्षा, स्वास्थ्य र पुरातात्विक सम्पदा निर्माणको काम भने सुस्त छ । सरकारले छिटो भन्दा छिटो पुनर्निर्माणको कार्यमा तदारुकता देखाउन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update