Shittalpati
पाल्पा जेसिजद्वारा रुद्रवेणीधाममा रहेको आश्रममा स्वास्थ्य शिविर

पाल्पा, पाल्पा जेसिज वर्ष २०२४ ले गुल्मीमा रहेको एक आश्रममा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उसले जिल्लाको सत्यवती गाउँपालिका–१ मा रहेको श्रीराम मन्दिर तार्केश्वर परमानन्द सन्यास आश्रम रुद्रबेणीधाममा पुगेर एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरको पाल्पा जेसिज वर्ष २०११ का अध्यक्ष तथा वर्ष २०१२ का राष्ट्रिय उपाध्यक्ष एवं पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष जेसी शैलेन्द्र भट्टराईले उद्घाटन गरेका हुन् । शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका भट्टराईले जेसिजले मानविय सेवामा देखाएको सक्रियता प्रशंसनिय रहेको बताए । उनले भने ‘वृद्धवृद्धाहरु समाजका पदप्रदर्शक हुुन् । उनीहरुको निःशूल्क स्वास्थ्य परीक्षण गरेर जेसिजले रचनात्मक काम गरेको छ ।’  स्वास्थ्य परीक्षणले जेष्ठ नागरिकलाई केही भए पनि राहत मिल्नेमा उनले विश्वास व्यक्त गरे । तानसेन नगरपालिका –३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले जेसिजले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने अभिप्राय बोकेर अगाडि बढेकोमा खुसी व्यक्त गरे ।   

आश्रममा आश्रित वृद्धवृद्धाहरूको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको जेसिज पाल्पाका अध्यक्ष जेसी अर्जुन कार्कीले बताए । उनले कोही कसैबाट पनि सहारा नपाएर आश्रममा आश्रित हुन पुुगेका वृद्धवृद्धाहरुको निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्न डा. सहित जेसिजको टोली आश्रममा  पुुगेको एनजेडी÷शितलपाटीलाई जानकारी दिए ।  अध्यक्ष कार्कीले  भने ‘ हामी युवाहरुको व्यक्तित्व, नेतृत्व विकाससँगसँगै मानविय र सामाजिक सेवामा पनि लाग्नुुपर्छ भन्ने लागेर ठाउँ –ठाउँमा पुुगेर मानविय सेवामा जोडिएका छौं, यसै क्रममा हामी रुद्रवेणीधामस्थित आश्रमका वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण गरेका हौं ।’

शिविरमा जेसिजका सदस्य तथा लुम्बिनी मेडिकल कलेजका इन्टर्नल मेडिसिन डा.उदीप महर्जनको नेतृत्वमा डा. राज कोजु, डा.तामेश्वर चौधरी, ब्रजिन जयना श्रेष्ठ, शालिकराज ढकाल सहितको डा. र स्वास्थ्यकर्मीको टोलीले आश्रममा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरेका थिए । शिविरमा सुगर, प्रेसर जाँचसँगै हाडजोर्नी दुख्नेको दीर्घकालीन समस्याहरुको उपचार गरिनुुको साथै औषधि समेत दिइएको थियो । म्याग्नस फार्म काठमाडौंले निः शूल्क औषधि सहयोग गरेको जेसिजले जनाएको छ ।

शिविरमा ६२ जनाले सेवा लिएका छन् । आश्रममै डा. सहितको टोलीले निःशूल्क स्वास्थ्य परीक्षण गरेपछि वृद्धवृद्धाहरु उत्साहित भएका छन् । शिविरमा स्वास्थ्य सेवा लिएकाहरुले पाल्पा जेसिजको लेटर प्याडमा डाक्टरले लेखिदिएको प्रिसकिप्सन लिएर आएमा उपचारको क्रममा एलएमसी पाल्पाले १० प्रतिशत छुट समेत दिने डा. उदीप महर्जनले बताए । जेसिज पाल्पा वर्ष २०१७ का अध्यक्ष जेसी पुर्णराज शाक्य, सदस्यहरु प्रशान्त प्रधान, मुकेश रावल, विनय खाती समेतको टोली शिविरमा पुगेको थियो । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update