Shittalpati
सरकारी निकायका सूचना अधिकारी र पत्रकार बिच अन्तरक्रिया

पाल्पा, जिल्लाका सरकारी निकायका सूचना अधिकारी र पत्रकारहरु बिच अन्तरक्रिया भएको छ । अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजनामा सूचना अधिकारी र पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा पत्रकारहरुले सरकारी निकायका सूचनाहरु सहज रुपमा पाउन नसकेको गुनासो गरेका छन् । उनीहरुले अधिकांश कार्यालयका सूचना अधिकारीहरुले सूचना लुकाउने, नदिने र कार्यालयमा अपडेट समेत नगर्ने गरेको बताए । कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले नागरिकप्रति जिम्मेवार बन्न सूचना अधिकारीहरुलाई आग्रह गरे । उनले सूचना पाउनु नागरिकको मौलिक अधिकार भएको भन्दै सूचना सहज रुपमा उपलब्ध गराउनुपर्ने बताए । उपाध्यक्ष शर्माले भने ‘अधिकार खोज्ने मात्र नभई कर्तव्य पनि पुरा गर्नुपर्छ, सूचना अधिकारीले आफुले पाएको कर्तव्य पुरा गर्नुपर्छ ।’ सूचना पत्रकारलाई मात्र नभई हरेक नागरिकलाई दिन कञ्जुस्याई गर्न नहुने समेत उनले बताए । हरेक सरकारी निकाय एवं स्थानीय निकायले सरकारी गतिविधिका सूचना प्रवाह नियमित गर्नुपर्ने भन्दै कार्यालयले सञ्चारमैत्री वातावरण तय गर्नुपर्नेमा शर्माले जोड दिए । सूचना समयमै नदिदा र लुकाउंँदा कार्यालयका राम्रा कामहरु समेत जनता समक्ष नपुग्ने उनले बताए । कार्यक्रममा पत्रकार महासंघका कोषाध्यक्ष मुक्ति न्यौपाने, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष कृष्ण कार्की, नेपाल प्रेस युनियनका जिल्ला सचिव रामचन्द्र रायमाझी लगायतले सूचना अधिकारीले सूचना दिननै गाह्रो मान्ने गरेको बताए । आम नागरिकको सूचना पाउने अधिकारमा सूचना अधिकारी गम्भीर बन्नुपर्नेमा उनीहरुले जोड दिए ।

पत्रकारहरुले स्थानीय मिडियाहरुको संरक्षण, प्रवद्र्धनमा समेत ध्यान दिन सूचना अधिकारीहरुलाई आग्रह गरे । उनीहरुले जिल्लाका सूचना तथा विज्ञापनहरु बाहिर गइरहेकाले त्यसको जिल्लामै व्यवस्थापन गर्न सके स्थानीय मिडियाहरु सञ्चालन गर्न सहज हुनेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सूचना नलुकाउन सबै सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारीलाई निर्देशन दिए । जनताको सूचनाको अधिकारलाई कसैले पनि कमजोर पार्न नहुने भन्दै उनले केही गोप्य सूचना बाहेक अन्य सार्वजनिक सूचनाहरु प्रवाह गर्न सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई आग्रह गरे । ‘जति गोप्य गर्न खोज्नु हुन्छ, लुकाउन खोज्नु हुन्छ त्यति नै जटिलता हुन जान्छ,’ प्रजिअ पन्तले भने ‘त्यसैले पारदर्शीता अपनाउँदै अरुले जान्न पाउने अधिकारको संरक्षण गर्नुहोस् ।’ सार्वजनिक निकायको सूचना जति धेरै सञ्चार माध्यम र नागरिकहरुलाई दियो, त्यति नै धेरै पारदर्शिता र सुशासन कायम हुने उनको भनाई थियो । सोही अवसरमा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष तथा कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक माधवप्रसाद अर्यालले संविधानमा व्यवस्था गरेको सूचनाको हक, अधिकार, सूचना के हो ?, सूचनाको हकको आवश्यकता किन ?, जवाफदेहीता के हो ? किन आवश्यक छ ?, सार्वजनिक निकाय/सूचना अधिकारीहरुको काम कर्तव्य र अधिकारी, सूचना प्राप्त गर्ने कार्यविधि लगायतका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्लाका सूचना अधिकारीहरुले भने आफुहरुले सूचना प्रवाहमा कुनै पनि कन्जुस्याई नगरेको बताएका छन् । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी भक्तिश्वरा रानाको स्वागत, प्रमुख प्रशासकिय अधिकृत रमा श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update