Shittalpati
भैरव मन्दिरको वास्तु पूजा

पाल्पा, जिल्ला रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित पाल्पा भैरव मन्दिरको वास्तु पुजा गरिएको छ । साप्तिक र तान्त्रिक विधिद्वारा मन्दिरको वास्तु पूजा गरिएको हो । पूनर्निमाणपछि विविध कारणले रोकिएको पूजा बुधबार विधिपूर्वक गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर पोखरेलले बताए । उनका अनुसार ५ जना पण्डितमार्फत पूजा गरिएको हो ।

मन्दिरको गत वर्ष पूनर्निमार्णको काम सकिए पनि कोरोना महामारी र केही प्राविधिक समस्याका कारण अहिले आएर वास्तु पूजा गरिएको अध्यक्ष पोखरेलले बताए । कुनै पनि घर वा भवन बनाउदा होस् वा त्यसको पुनर्निर्माण गर्दा किन नहोस् वास्तु पूजा गर्ने चलन रहेको छ । घर, भवन विधिवत् वास्तुशास्त्रअनुसार अगाडि बढायो भने त्यसको सकारात्मक प्रभावले जीवनमा आनन्द, सुख, शान्ति, समृद्धि प्राप्ति हुने विश्वास रहेको छ । भैरव मन्दिर आफैमा धार्मिक र ऐतिहासिक पर्यटकीय स्थल हो । धार्मिक आस्था बोकेका मानिसहरु मन्दिरमा दर्शन गर्ने र दुःखसुखमा देवीलाई पुकारा गर्छन् । यहाँ दैनिक एक हजार भक्तजनले मन्दिरमा दर्शन गर्दै आएका छन् । 
 

सेन वंशका राजा मुकुन्द सेन प्रथमले आफ्नो राज्य विस्तार गर्ने क्रममा पूर्वका काशी र पश्चिममा हरिद्वारसम्म फैलिएको थियो । काठमाडौं खाल्डोमा विसं १५१५ मा आक्रमण गर्दा मच्छिन्द्रनाथको विहारको पटाङ्गिनीमा रहेको भैरवको मूर्ति ल्याएर स्थापना गरेको मानिन्छ । भैरव मन्दिरको माथिल्लो तलामा सर्वसाधारणको दर्शनार्थ कीर्तमुख भैरवको स्थापना गरिएको छ । 

खास भैरवलाई सर्वसाधारणले हेर्न हुँदैन भन्ने मान्यता छ । सो भैरव मूर्ति भुइँतलामा छ । बगलमा कालीको मूर्ति छ । मन्दिरमा भाक्कल पुजा, क्षमापुजा, पञ्चबली पुजा हुन्छ । यहाँ प्रसादको रुपमा चढाइने रोटको विशेष महत्व हुन्छ । नेपाली एकीकरणका समयमा पाल्पाका सेन राजालाई शक्तिशाली राज्यका रुपमा मानिन्छ । सेन राजाका पालामा भैरव मन्दिर स्थापित भएको हो । स्थानीय बासिन्दाले रोट पकाउने तथा मन्दिरमा चढाउने सामग्रीको कारोबारबाट रोजगारी तथा स्वरोजागर सिर्जना हुँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update