Shittalpati
रानीमहल संरक्षणका लागि सभामुखलाई ध्यानाकर्षण

पाल्पा, पाल्पाको पर्यटकीय तथा ऐतिहासिक रानीमहल दरबार संरक्षणका लागि संघीय संसद्का सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराइएको छ । शुक्रबार  संघीय संसद् र प्रदेश सभा तथा सचिवालयबीच अन्तर व्यवस्थापिका सम्बन्धी भेलामा सहभागी हुन पाल्पा आएका बेला रानीमहलको अवलोकन गर्न रानीमहल पुगेका घिमिरेलाई पाल्पाका जनप्रतिनिधिहरुले रानीमहल दरबार संरक्षणका लागि सहयोग गर्न ध्यानाकर्षण गराएका हुन् ।

संघीय सांसद ठाकुर गैरे, तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठ लगायतका पाल्पाली जनप्रतिनिधिहरुले रानीमहललाई तप व्यवस्थित र सुन्दर बनाउने दिशामा योजना बनाएर अगाडि बढ्ने कार्यमा सहयोग गरिदिन सभामुख घिमिरेलाई आग्रह गरेका छन् । रानीमहल क्षेत्रको अवलोकनपछि सभामुख घिमिरेले पर्यटकीय क्षेत्र रानीमहललाई प्रमुख आकर्षण गन्तव्य बनाउन आफुले पहल गर्ने बताए । उनले भने ‘यस विषयमा सदनमा प्रतिनिधिसभा र प्रदेशसभाको ध्यानाकर्षण हुनेछ ।’ सभामुख देवराज घिमिरे, राष्ट्रियसभाकी उपाध्यक्ष विमाल घिमिरे, ७ वटै प्रदेशका सभामुख तथा उपसभामुख, केन्द्र तथा प्रदेशका सचिवहरुले रानीमहल दरवारको अवलोकन गरेका थिए । 

दरवार अवलोकन गर्न पुगेका अतिथीहरुलाई तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उप प्रमुख प्रतिक्षा गाहा सिंजाली, प्रवक्ता यादवसिंह कार्की, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला वडा अध्यक्ष टुकप्रसाद भट्टराईले पाल्पाली ढाका टोपी र पछ्यौराबाट सम्मान समेत गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update