Shittalpati
आजदेखि कक्षा १२ को परीक्षा सुरू

पाल्पा, आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुन लागेको हो ।

परीक्षामा देशभरबाट कुल ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेडवृद्धितर्फका विद्यार्थी हुन् । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रबाट परीक्षा सञ्चालन हुने छन् । 

देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । काठमाडौंबाट सहभागी हुने विद्यालयका विद्यार्थीको केन्द्र भने स्वचालित विधिबाट तोकिएको छ । यो विधि लागू गर्दा कुन विद्यालयका विद्यार्थी कुन केन्द्रमा पर्छन् भन्ने निश्चित हुँदैन । एउटै विद्यालयका विद्यार्थी पनि फरक–फरक केन्द्रमा पर्ने छन् । यो वर्ष परीक्षण भएपछि आगामी वर्षदेखि देशभरि नै लागू गरिने परीक्षा बोर्डले जनाएको छ । 

प्रश्नपत्र भने गतवर्ष जस्तै अनलाइनबाट पठाइने छ । तर अनलाइनबाट प्रश्नपत्र पठाउँदा प्रिन्ट गर्ने क्रममा बाहिरिने गुनासो आउने गरेको छ । २०७६ को कोभिड महामारीयता बोर्डले कक्षा १२ को प्रश्नपत्र अनलाइनबाटै पढाउने व्यवस्था गर्दै आएको छ । चैतमा सञ्चालित एसईई परीक्षामा भने छपाइ गरेरै परीक्षा केन्द्रहरूमा प्रश्नपत्र पठाइएको थियो । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १ सय ७१ जनशक्ति खटिँदै छन् भने १८ हजार ३ सय प्रहरी परिचालन हुने बोर्डले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update