Shittalpati
आज विश्व बाघ दिवस मनाइँदै

पाल्पा, विश्वभर विभिन्न कार्यक्रम गरी आज विश्व बाघ दिवस मनाइँदै छ । नेपालमा पनि विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूका विषयमा विभिन्न कार्यक्रम गरी हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजको दिन यो दिवस मनाउने गरिएको हो ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने विभिन्न १३ मुलुकका राष्ट्र र सरकार प्रमुखको सम्मेलनले विश्वमा बाघको संख्या दोब्बर पुर्याउने संकल्प गरेको थियो । सो संकल्पअनुसार नेपालले हरेक वर्ष बाघ संरक्षणका विषयमा चासो दिदै यो दिवस मनाउने गरेको छ । बाघ संरक्षणका लागि सरकारले वार्षिक करोडौं बजेट समेत विनियोजन गर्दै आएको छ । पछिल्लो समय बाघहरुको उचित व्यवस्थापन नहुँदा विगतको तुलनामा संख्यामा कमी आएको छ । यिनीहरूको संख्या घट्नुमा मुख्य कारण भनेको जंगल फडानीले गर्दा बास स्थलको कमी, मौसममा परिवर्तन, गैर कानुनी सिकारको उपज हो । यो प्रवृत्तिमा रोक ल्याउने हेतुले १३ मुलुकहरू संयुक्त रूपमा सक्रिय भएर लागेका छन् । भारत, नेपाल, भुटान, ब·लादेश, कम्बोडिया, चीन, लाओस्, म्यानमार, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षणका कार्यक्रमहरु अघि बढेका छन् । बाघको अस्तित्व जोगाइ राख्न हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । जगंलको राजा भनिने बाघ सुगठित शरीर भएको बलियो र सुन्दर स्तनधारी जनावर हो । यो बिरालो परिवारको सबैभन्दा ठूलो प्रजाति हो । यो खाद्यचक्रको उपल्लो तहमा पर्छ । छालाको पहेंलो भुईंमा काला पाटाहरुले बाघ आकर्षक देखिन्छ र प्रत्येक बाघमा पाटाहरु फरक–फरक हुन्छन् । यसका पञ्जा ठूला र बलिया हुन्छन् । यसको डोब पनि प्रत्येक बाघमा फरक–फरक हुन्छ । यी पाटा र पञ्जाका डोब नै बाघहरु बिचको फरक छुट्टयाउने संकेत हुन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update