Shittalpati
आरन पेशा  संरक्षणमा वडा कार्यालय

रामपुर, विश्वकर्मा समुदायको पुर्खौली पेशा आरन लोप हुन नदिन संरक्षण गर्न थालिएको छ । यसको संरक्षणमा रामपुर नगरपालिका ४ ले विश्वकर्मा समुदायको चिनारीको व्यवसाय समुदायबाटै लोप हुन थालेपछि संरक्षणका लागि सहयोग गर्न थालेको हो । वडा कार्यालयले आरन व्यवसायलाई प्रवद्र्धन र संरक्षण गर्दै जस्तापाता, पंखा जस्ता विभिन्न सहयोग गत वर्षदेखिनै गरेको वडा सदस्य पार्वती परियारले बताईन् । वडामा करिब आधा दर्जन आरन व्यवसायी रहेका छन् ।

आरन व्यवसायलाई जोगाउन जस्तापाता र पंखा पाएपछि काममा हौसला बढेको सिन्दुरटार बस्ने ६४ वर्षीय मनबहादुर विकले बताए । ‘आर्थिक अभावमा आरनको छानो छाउन सकिएको थिएन, वडाले छानो छाउन जस्तापाता र पंखा उपलब्ध गराएपछि काम गर्न सहज भएको छ’, विकले भने । उनले जीवनको ५७ वर्षको समय आरन व्यवसायमा बिताए । अहिलेसम्म व्यवसायका लागि कोही कसैबाट सहयोग पाएका थिएनन् । सहयोगपछि व्यवस्थित तरिकाले व्यवसाय चलाउने उनी बताउँछन् ।

यो कामले १५ जनाको परिवार पालनमा सहयोग पुगेको छ । मौलाथरका युवा सुरेन्द्र कामी विसं २०५४ देखि गाउँमा सबैले छाड्दै आएको आरन व्यवसाय जोगाउन दुःखसुखले चलाउँदै आएको बताउँछन् । ‘पेशा जोगाउन जेनतेनले चलाएको थिए, जनप्रतिनिधि आएपछि पुरानो व्यवसायलाई जोगाउन सहयोग गर्नुभएको छ, असाध्यै खुशी लागेको छ’, उनले भने । यही व्यवसायबाट सात जनाको परिवारको गुजारा चलेको उनको भनाई छ । गामपोखरा बस्ने कृष्णकुमारी कामी हातले कुदेर कलात्मक रुप दिई गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी फलामबाट कुटो, कोदालो, बञ्चरो, हसिया लगायतका विभिन्न सामग्री बनाउने गर्छिन् ।


यस व्यवसायमा युवापुस्ताले चासो नदिनु, गाउँघरमा कोइलाको अभाव हुन थालेपछि विश्वकर्मा समुदायको पहिचानका रुपमा रहेको पुरानो आरन व्यवसाय नै लोप हुँदै गएको हो । पुरानो व्यवसाय संरक्षण नहुँदा समुदायको चिनारी नै लोप हुन थालेपछि संरक्षण गर्न थालिएको वडाध्यक्ष एकबहादुर नेपालीले बताए ।

‘युवापुस्ता आरन सम्बन्धी सीप सिक्न छाडेर विदेशतिर लागे, गाउँमा बसेर पुरानो पेशा सम्हाल्ने कुनै युवा नहुँदा व्यवसाय हराउँदै गएकाले यसको संरक्षणमा वडा कार्यालय लागेको छ’, अध्यक्ष नेपालीले भने । दश वर्ष पहिले यस क्षेत्रमा ५० बढी आरन व्यवसाय सञ्चालनमा थिए । अहिले भने थारैले मात्र यो व्यवसाय चलाएको पाइन्छ । –रासस

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update