Shittalpati
गुल्मीमा सवारी चालकलाई ट्राफिक सचेतना

रमेश विश्वकर्मा

गुल्मी, जिल्ल्लामा सवारी चालकहरुका लागि ट्राफिक सचेतना प्रवद्र्धन सम्बन्धी कार्यक्रम गरिएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको व्यवस्थापनमा तम्घासमा सवारी चालक तथा यातयात व्यवसायीहरुलाई ट्राफिक सचेतना प्रदान गरिएको हो ।

ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रमको शुभारम्भ प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले गरेका हुन् । कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख प्रजिअ पौडेलले कोभिड–१९ का कारण जति मान्छे मरे त्यो भन्दा बढी मानिसको मृत्यु सडक दुर्घटनामा परी हुने गरेको भन्दै त्यसलाई रोक्न चालकलाई सचेतना आवश्यक रहेको औल्याए । उनले संसारभर वर्षमा करिब १२ देखि १५ लाख मानिसको मृत्यु सडक दुर्घटनामा परी हुने गरेको तथ्य प्रस्तुत गरे । करिब ५ करोड मानिस सडक दुर्घटनामा परी गम्भिर घाइते हुने गरेको पौडेलले बताए । ७५ प्रतिशत सवारी दुर्घटना ट्राफिक नियमको पालना नभएका कारण हुने गरेको उनले दाबी गरे । ट्राफिक नियम थाहा हुँदा हुँदै पनि यसप्रति चनाखो नबन्दा सडक दुर्घटना हुने गरेको उनको भनाई छ । प्रजिअ पौडेले मान्छेको शरिरको मेकानिकल भ्यालु मात्रै चार अरब अमेरिकी डलर पर्ने अध्ययनले देखाएको बताए । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशका योजना तथा प्रशासन शाखा प्रमुख देविराम पाठकले लुम्बिनी प्रदेशको बुटवलबाट ट्राफिक चेतना प्रर्वद्धन कार्यक्रमको शुभारम्भ गरिएको जनाकारी दिए । उनले सडक सुरक्षा कुनै एउटा तह र तप्काबाट मात्र संभव नहुने बताए । ‘सडक सुरक्षा कुनै एकल व्यक्ति, एउटा निकाय र एउटा तप्काबाट मात्र संभव छैन्’ उनले भने,–‘सबैको सामूहिक साझेदारीमा मात्रै सडक सुरक्षा कायम गर्न सकिन्छ ।’

ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँण तथा हुमानन्द खाँणले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । मुख्य प्रशिक्षक खाँणले भने,–‘गलत स्थानबाट ओभरट्याक गर्दा दुर्घटनाको जोखिम बढी हुन्छ । ट्राफिक नियमको अनिवार्य पालना गर्नुपर्छ ।’ ट्राफिक नियमको पालना गरे मात्र पनि अधिकांश सडक दुर्घटना न्यूनिकरण गर्न सकिने बताए । खाँणले भिडियोका माध्यममार्फत पनि सहभागीहरुलाई ट्राफिक सचेतना प्रदान गर्दै भने,–‘जब तपाई सवारी चलाउनुहुन्छ तब तपाइको हातमा मानवको जीवन जोडिएको हुन्छ । सवारी चलाउँदा सय प्रतिशत नै सहज हुन जरुरी छ ।’ ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख नम बहादुर थापा, जिल्लास्थित विभिन्न यातयात व्यवसायीहरु, सवारी चालकहरु, सहचालक लगायतको उल्लेखनीय सहभागिता रहेको थियो । त्यस अवसरमा सडक सुरक्षा, दुर्घटना न्यूनिकरण, ट्राफिक नियम, चिन्ह, संकेत तथा सवारी चलाउँदा तथा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सर्तकताका नियमहरु सम्बन्धी ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका नविन भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update