Shittalpati
मुसिकोटका ३४ सय ६० घरधुरीमा खानेपानी पुग्यो

गुल्मी, बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौं समय लगाएर खानेपानी बोक्दै आएका गुल्मी मुसिकोट नगरपालिका ३ तोदालीका स्थानीय अहिले घर–घरमा खानेपानीको धारा पुगेपछि दङ्ग छन् । वर्षौंदेखि खानेपानीको निकै कष्ट भोग्न बाध्य यस क्षेत्रका स्थानीयलाई बिहान उठेपछि अरु कामकाज भन्दा खानेपानीको जोहो गर्नु पर्दा निकै पिरलो हुन्थ्यो, तर अहिले घर–घरमा जडान गरिएका धारामा पानी आएको देख्दा उनीहरू खुसी भएका छन् ।

खानेपानीका लागि निकै समस्या झेल्दै आएका उनीहरूको अथक प्रयास र मेहनत पछि लुम्बिनी प्रदेश सरकार र मुसिकोट नगरपालिकाको ७२ लाख र स्थानीयको श्रमदान गरी झण्डै १ करोडको लागतमा अमलडाँडा खालधारा खानेपानी तथा सरसफाई योजनामार्फत खानेपानीको सुविधा पुगेको हो । अहिले तोलादीका एक सय ५६ घरधुरीमा खानेपानीको पहुँज पुगेको छ । मुसिकोट नगरपालिकाको एक घर एक धारा कार्यक्रम अन्तर्गत नगर भित्रका वडामा पानी पुर्‍याउन थालिएको हो । नगर सरकारले अहिलेसम्म ३२ वटा खानेपानी आयोजना सम्पन्न गरेको छ । जसमध्ये खानेपानीको पहँुच भन्दा बाहिर रहेका झण्डै ७ हजार ५ सय घरधुरीमध्ये ३ हजार ४ सय ६० घरधुरीमा मात्र खानेपानी पुर्‍याइएको छ । जसमध्ये वडा १ मा एक सय ९८, वडा २ मा ४ सय ९४, वडा ३ मा ६ सय ७५, वडा ४ मा ६ सय ४९, वडा ५ मा ९२, वडा ६ मा २ सय ५४, वडा ७ मा ४ सय ७५, वडा ८ मा ५ सय ४ र वडा ९ मा एक सय १९ घरधुरीमा खानेपानी पुर्‍याइएको नगरपालिका वास संयोजक सीता भुषालले बताइन् । उनका अनुसार ११ करोड लागतमा यि घरधुरीमा खानेपानी पुर्‍याइएको हो । तीन वर्ष लगाएर ३२ वटा खानेपानी योजना सम्पन्न भएका हुन् । वडा ३ को अमलडाँडा खालधारा खानेपानी तथा सरसफाई योजनाको एक कार्यक्रमका बिच उद्घाटन समेत गरिएको छ । नगरप्रमुख सोमनाथ सापकोटाले उक्त योजनाको उद्घाटन गरेका हुन् । योजनाको उद्घाटन गर्दै नगरप्रमुख सापकोटाले डोकोमा बोकेर कष्टकर रुपमा कुवा र ताल तलाउको पानी खान बाध्य स्थानीयहरुको समस्यालाई मध्यनजर गर्दै घर घरमा खानेपानी पुर्‍याइएको बताए । उनले भने ‘निर्वाचनका बेला नागरिक समक्ष गरेका प्रतिवद्धता खानेपानी आयोजनाले केही भए पनि पूरा गर्नेछ ।’ खानेपानीको क्षेत्रमा नगर सरकारले महत्वपूर्ण उपलब्धी हासिल गरेको नगरप्रमुख सापकोटोले बताए ।

योजना सम्पन्न भएपनि त्यसको दीगो व्यवस्थापनमा ध्यान दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । नगरपालिका वास संयोजक सीता भुषालले खानेपानी आयोजनाहरु वर्षौसम्म टिकाई राख्न उपभोक्ता समितिका पदाधिकारीहरुलाई नगरपालिकाले प्राविधिक तालिम दिँदै आएको बताइन् । आयोजना सम्पन्न मात्रै हुनुभन्दा पनि त्यसको उपभोग दीर्घकालिनसम्म हुने गरी काम गर्न भूषालले उपभोक्ता समितिका पदाधिकारीहरुलाई आग्रह गरिन् । कार्यक्रममा नेपाली काँगे्रस मुसिकोट नगरपालिका छाँया सरकार प्रमुख झविलाल भण्डारी, मुसिकोट नगरपालिकाका कानुनी सल्लाहकार अनन्तलाल भण्डारी, मुसिकोट नगरपालिका २ का वडाध्यक्ष लक्ष्मण खत्री, वडा ४ का वडाध्यक्ष ओमबहादुर केसी वडा ८ वडाध्यक्ष एवम् एक घर एक धारा अभियानका संयोजक नारायण सापकोटा, वडा ३ का वडाध्यक्ष कर्णध्वज जिसी, उपभोक्ता समितिका अध्यक्ष गणेशलाल भण्डारी, वडा सदस्य गणेश कुंवर, प्रधानाध्यापक मधु मल्ला लगायतले खानेपानीबाट बञ्चित नागरिकहरुका लागि एक घर एक धारा अभियानले महत्वपूर्ण टेवा पुग्ने बताए । नगर सरकारले यस आर्थिक वर्षमा थप १० वटा आयोजनाहरु सम्पन्न हुने र जसबाट थप १ हजार घरधुरीमा खानेपानीको धारा पुग्ने जनाएको छ । ५ वर्षे कार्यकाल भित्र नगरसरकारले प्रत्येक नागरिकको घरमा एक घर एक धारा पुर्‍याउने अठोट लिएको छ ।
–पत्रकार कौरव खत्रीको सहयोगमा

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update