Shittalpati
सेनेटरी प्याड पाएपछि छात्राहरु नियमित विद्यालय

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले निःशुल्क सेनेटरी प्याड वितरण गरेपछि छात्राहरु नियमित विद्यालय आउन थालेका छन् । महिनावारी हुँदा शारीरिक समस्या हुने र पठनपाठनमै समस्या हुने गरेपछि महिनावारीको समयमा छात्राहरु विद्यालय नै नआउने,आएपनि कक्षा छाडेर घर फर्कने छात्राहरु अहिले भने नियिमत विद्यालय जान थालेका हुन् ।

गाउँपालिकाको शिक्षा शाखाले छात्राहरुको समस्यालाई ध्यानमा राख्दै सेनेटरी प्याड वितरण कार्यक्रमलाई अगाडि बढाएको छ । सेनेटरी प्याड पाएपछि अहिले त्यहाँका छात्रा नियमित रुपमा विद्यालयमा बस्न थालेका छन् । महिनावारी हुने समय आएपछि विद्यालय जाने कि नजाने गएपनि कसरी दिन कटाउने केही समस्या होला कि भन्ने चिन्ताले सताउने माथागढीका किशोर समूहका छात्राहरुलाई अहिले यो समस्याले सताउन छाडेको गाउँपालिका उपाध्यक्ष निर्माण भट्टराईले बताइन् । विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेपछि छात्राहरुको विद्यालयमा नियमितता बढेको उपाध्यक्ष भट्टराईले जानकारी दिइन् । छात्राहरुले आफूहरु महिनावारी भएको समय निर्धक्कसंग कार्यालयमै आएर कुनै लाज नमानी सेनेटरी प्याड माग्ने गरेको सम्बन्धित विद्यालयका शिक्षिकाहरु बताउँछन् ।

गाउँपालिकाले १४ वटा सामुदायिक विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिसकेको छ । १० मावि र ४ आधारभूत तहका सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुका लागि महिनावारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याड वितरण गरिएको शिक्षा शाखाका संयोजक गजेन्द्र पन्थीले जानकारी दिए । उनका अनुसार १४ विद्यालयहरुमा अध्ययन गर्ने एक हजार ३ सय ३५ छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको हो । महिनावारी अवधिमा कक्षा छाड्न नपरोस् भनेर गाउँपालिकाले १२ लाख बजेट विनियोजन गरी हरेक विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेको हो । गाउँपालिकाले हरेक विद्यालयका शिक्षिकामार्फत महिनावारी बारे छात्रालाई परामर्श समेत दिर्दै आएको छ । महिनावारीको बेला छात्राहरुलाई सरसफाइको झनै आवश्यकता पर्ने भएकाले स्वास्थ्य समस्या कम गर्न सेनेटरी प्याडले सहयोग पुग्ने गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक केशव जिरुसीले बताए ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update