Shittalpati
गुल्मीमा झारफुक गरी सञ्चो बनाउने भन्दै तातो फलामले डामेर एकको मृत्यु

गुल्मी, पुस २९/जिल्लाको सदरमुकाम तम्घासमा झारफुक गरी सञ्चो बनाउने बहानामा तातो फलामले डाम्दा एक जनाको मृत्यु भएको छ । इस्मा गाउँपालिका–३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको झारफुक गरि सन्चो बनाउने भन्दै तातो फलामले डाम्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

मालिका गाउँपालिका–६ अर्जे स्थायी घर भई हाल रेसुङ्गा नगरपालिका १ तीनधारामा भाडामा अस्थायी टहरा बनाई बस्दै आएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकी श्रीमती ३६ वर्षीया शान्तीला श्रेष्ठले मुखियालाई तातो फलामले डामेको प्रहरी नायब उपरीक्षक पन्तले बताए । मुखिया ढाड दुख्ने बिरामी भई झारफुकका लागि गत पुस २५ गते देखि निरन्तर श्रेष्ठको साथमा थिए ।

मृतक मुखियासँगै रहेका उनका ३४ वर्षीय छोरा हुमबहादुर मुखिया र रेसुङ्गा नगरपालिका–५ का पुनबहादुर दमाईकी श्रीमती टोपला दमाई पनि तातो फलामले डाम्दा घाइते भएका छन् । घाईते उनीहरुको जिल्ला अस्पताल गुल्मीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रेष्ठ दम्पत्ती प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update