Shittalpati
गुल्मीमा जातिय विभेदको मुद्दा दर्ता

गुल्मी । जिल्लाको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङमा गत वैशाख २२ गते भएको जातिय विभेदको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । सोमबार जिल्लामा क्रियाशिल दलित अधिकारकर्मीहरुको उपस्थितीमा पीडित परिवारले जातिय विभेद गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । मंगलबार मुद्दा दर्ता गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।

आरोपित भने गिरफ्तार भएका छैनन् । गाउँपालिकाको कार्यपालिका सदस्य समेत रहेकी कौशिला परियारका २७ बर्षीय छोरा श्याम परियार मलामी गएर फर्किने क्रममा हावाहुरी र पानी ठूलो पानी परेपछि ओत लाग्ने क्रममा स्थानीय ४३ बर्षीय नेत्र काउछाको घरमा पस्दा उनलाई जातिय रुपमा गाली गलौज गरी १५ सय रुपैयाँ जरिवाना समेत तिराएका थिए । पीडित श्याम परियारलाई स्थानीय केही व्यक्तिहरुको उपस्थितिमा जवरजस्ती कागज गराई आर्थिक जरिवाना गराएका थिए ।

उनी र उनका बुवा धनबहादुर परियारलाई कुटपिट गरी, गालीगलौज र गाउँ निकाला गर्ने धम्की समेत दिएको बताईएको छ । अमानविय घटनाबाट जातिय विभेद भएको छर्लङ्गै भएको ठहर गर्दै घटनाले नेपालको संविधान, जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८, छुवाछुत मुक्त राष्ट्र घोषणा लगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानून, प्रतिवद्धताहरुको मर्म र भावनाको धज्जी उडाएको भन्दै जिल्लामा क्रियाशिल अधिकारकर्मीहरुले दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update