Shittalpati
उत्पादन वृद्धि गर्न माथागढीका कृषकलाई कृषि औजार

पाल्पा(झडेवा), जिल्लाको माथागढी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउनका लागि कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो ।

गाउँपालिका भित्रका ८ वटै वडाका व्यवसायिक कृषकहरुलाई हाते ट्याक्टर,कुटानी पिसानी मिल लगायतका कृषि औजारहरु दिएको छ । गाउँपालिकाको कृषि शाखाले एक औपचारिक कार्यक्रमको आयोजना गरी यहाँका कृषकहरुलाई अनुदानमा कृषि औजार हस्तान्तरण गरेको हो । व्यावसायिक कृषिमा लागेका र कोभिडका कारण वैदेशिक रोजगारीबाट फर्कि कृषिमा लागेका युवाहरुलाई कृषि यान्त्रीकरण कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा औजार वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

उक्त सामग्री गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगर,उपाध्यक्ष निर्मला भट्टराईले कृषकलाई हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष थापाले कृषकलाई कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन ५० प्रतिशत अनुदानमा कृषि सामग्री दिएको बताए । उनले गाउँपालिकालाई कृषिबाटै समृद्धि हासिल गर्ने र आमनागरिकहरुलाई कृषिमा आत्मानिर्भर गराउन कृषि सामग्रीले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । अध्यक्ष थापाले कृषकहरुलाई अनुदानको सदुपयोग गर्न आग्रह गरेका छन् । कार्यक्रममा उपाध्यक्ष भट्टराईले कोभिड १९ कोरोना भाईरसका कारण बढ्दै गएको विषम परिस्थितिले भारत लगायतका अन्य देशबाट नागरिकहरु फर्कने क्रम बढेकाले पनि कृषि पेशालाई थप मर्यादित र व्यवसायिक बनाउन गाउँपालिकाले कृषि उत्पादनलाई विशेष जोड दिएको बताईन् ।

प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले अनुदानको सही सदुपयोग गरी मनग्य आम्दानी लिन कृषकहरुलाई आग्रह गरे । कृषक ज्ञानबहादुर पुलामीले यो कार्यक्रमले कृषकहरुलाई काम गर्न हौसला थपेको बताए । कृषि अधिकृत किरण पराजुलीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update