Shittalpati
छत्रकोटमा उखु महोत्सव, किसान भए उत्साहित

गुल्मी,छत्रकोट गाउँपालिकामा आयोजना गरिएको उखु महोत्सवबाट उखु किसान उत्साहित बनेका छन् । उखुको उत्पादनलाई थप व्यावसायिक बनाउँदै त्यसको प्रवद्र्धन र विकासका लागि गाउँपालिकाले वडा नं ४ अन्तर्गत दिगामा शुक्रबार एकदिने उखु महोत्सवको आयोजना गरेको छ ।

पालिकालाई उखुमा आत्मनिर्भर बनाउनका लागि आयोजना गरिएको महोत्सवमा पराम्परागत शैलीमा गोरुको प्रयोग गरी उखु पेल्ने, खुदो र गुँड बनाउने कार्यका अतिरिक्त उखुको रसबाट उत्पादित सामग्रीलाई प्रदर्शनीमा राखिएको थियो । महोत्सवमा स्थानीय जातको सेतो कोसेर, रातो कोसेर, कालो कोसेर, जीतपुर कोसेर एवं पुरानो जातका उखु प्रदर्शन गरिएको थियो । गाउँपालिकाको वडा नं ४ स्थित दिगाममा पहिलो पटक सञ्चालन गरिएको महोत्सवमा उखुको महत्व र त्यसको उपयोगिताका बारेमा विभिन्न गीत तथा सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो । उखु महोत्सवमा जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले छत्रकोटको कृषि क्षेत्रमा नौलो कार्यक्रम गर्ने सो पालिका रहेको बताए । उनले छत्रकोटले उखु खेतीका माध्यमबाट आर्थिकोपार्जन गरी समुन्नति हासिल गर्नसक्ने बताए ।

महोत्सवमा गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले उखुको प्रवद्र्धन र विकाससँगै किसानलाई अझ बढी व्यावसायिक बनाउन लागि उखु महोत्सव आयोजना गरिएको जानकारी दिए । उनले महोत्सवले किसानमा आफ्ना उत्पादन बिक्री गर्न र त्यसको प्रचार–प्रसार गर्न थप मद्दत पुगेको बताए । कार्यक्रममा उखु महोत्सवका संयोजक एवं व्यावसायिक उखु कृषक रामकृष्ण न्यौपानेले गाउँमा आयोजना गरिने यस्ता प्रकारका मेला महोत्सवले किसानलाई पनि थप उत्प्रेरणा जगाउने काम गरेको बताए । यसबाट उखु किसान थप उत्साहित बनेको भन्दै यसलाई आगामी वर्षमा पनि निरन्तरता दिन उनले आग्रह गरे । महोत्सवमा गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली, कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारी, प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनलगायतका व्यक्तिले महोत्सवले उखु किसानलाई थप हौसला बढाएको बताए । गाउँपालिकामा मात्र तीन सय किसान व्यावसायिक उखुखेतीमा लागेका छन् । जिल्लाको खेतीयोग्य जमिनमध्ये एक सय ९० हेक्टर क्षेत्रफलमा व्यावसायिकरुपमा उखुखेती गरिएको छ । यस वर्ष जिल्लामा पाँच सय ८९ मेट्रिकटन उखुजन्य पदार्थ (खुदो र गुड) उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख भण्डारीले जानकारी दिए । जिल्लामा यस पटक पाँच करोड ४५ लाख बराबरको उखुजन्य पदार्थ उत्पादन भएको जनाइएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update