Shittalpati
भूतपूर्व सैनिक संघ पाल्पाले गर्याे जनप्रतिनिधिलाई सम्मान

पाल्पा, नेपाली काँग्रेसको शुुभेच्छुक संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले स्थानीय तह र प्रदेश सभा सदस्यमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । संघले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रमकाबीच संघमा आवद्ध नवनिर्वाचित तीन जना जनप्रतिनिधिलाई सम्मान गरेको हो ।

उसले मंसिर ४ गते भएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पाल्पा क्षेत्र नं.२ (१)बाट प्रदेश सभा सदस्यमा निर्वाचित नेपाली काँग्रेस पाल्पाका निर्वतमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वीरबहादुर रानालाई सम्मान गरेको छ । यस्तै संघले वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा तिनाउ गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित क्याप्टेन लालबहादुर थापा र तानसेन नगरपालिका–२ को वडा सदस्यमा निर्वाचित सुब्दार रामबहादुर थापालाई सम्मान गरेको छ ।

स्थानीय तह र प्रदेश सभा सदस्यमा संघका अत्यन्त कर्मशिल र जुझारु व्यक्तिहरु जनप्रतिनिधिका रुपमा निर्वाचित हुन सफल भएको र आगामी दिनमा जनताको सेवामा थप समर्पित बन्न उत्प्रेरण मिलोस् भन्ने उद्देश्यले सम्मान गरिएको संघका अध्यक्ष विष्णु गाहाले बताए । उनले निर्वाचनका बेला जनतासँग गरेका वाचाहरु पुरा गर्न सम्मानित जनप्रतिनिधिहरुलाई आग्रह गरे । अध्यक्ष गाहाले आफ्ना प्रतिनिधिहरुलाई विजयी बनाउन संघका सम्पूर्ण भूपु सैनिकहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा सम्मानित व्यक्तित्व तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वीरबहादुर रानाले संघले गरेको सम्मानको कदर गर्ने बताएका छन् । उनले आफु जनताको सेवाका लागि राजनीतिमा लागेको भन्दै जनतालाई निराश नहुने गरी काम गर्ने बताए । मन्त्री रानाले भने‘पहिलो पाँच वर्ष सिकाइ र अभ्यासमै वितेकाले अबको कार्यकाल विकास निर्माणका लागि हो, त्यही अनुसार म लागेको छु ।’ पहिलो कार्यकाल सिक्नमै खर्चिएकाले अब पनि त्यही बाहाना बनाएर उम्कने छुट कसैलाई पनि नरहेको उनले बताए । मन्त्री रानाले भूतपूर्व सैनिक अत्यन्त अनुसाशित संगठन रहेको बताए । उनले अब अनुसाशित विनाको संगठन चल्लन नसक्ने भन्दै सबै संगठनहरु अनुसाशित बन्नुपर्नेमा जोड दिए । पछिल्लो समय धेरै शिक्षित भए पनि अनुसाशित, संकारयुक्त र सिर्जनशिल बन्न नसकेको बताए ।

कार्यक्रममा संघका सल्लाहकार क्याप्टेन अमरबहादुर थापाले पाल्पाली जनताले अनुसाशित र अत्यन्त सशक्त जनप्रतिनिधि पाएको भन्दै खुसी व्यक्त गरे । उनले वीरबहादुर राना पाल्पाको गहना भएको र त्यसको संरक्षण गर्ने दायित्व भूतपूर्व संैनिकको पनि रहेको बताए । आदीवासी जनजाती संघ पाल्पाका अध्यक्ष कृष्ण रानाले जनताको सुख दुखमा सारथी बन्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरे । संघका अध्यक्ष विष्णु गाहाको अध्यक्षता, पिताम्वर गाहाको स्वागत, सचिव रामबहादुर थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update