Shittalpati
गगनको चौथो संसद यात्रा

पाल्पा, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतले विजयी भएका छन् । उनले २१ हजार ३ सय २ मत प्राप्त गरेर चौथो संसद यात्रा तय गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डा. राजन भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गरे । गगनले राजनलाई ७ हजार ४ सय ४७ मतान्तरले पराजित गरेका छन् । काठमाडौं ४ मा ४५ हजार ५ सय ३ मत खसेको थियो । २०७४ सालमा पनि गगनले राजनलाई नै पराजित गरेका थिए । गगनको यो क्षेत्रबाट चौथो जित हो । उनी एक पटक समानुपातिक र तीन पटक प्रत्यक्षबाट निर्वाचित सांसद बनेका छन् । संविधानसभा सदस्य निर्वाचन २०६४ मा काँग्रेसका तर्फबाट उनी समानुपातिक सदस्यमा निर्वाचित भएका थिए । २०७० सालदेखिका लगातार तीन वटा निर्वाचनमा उनी प्रत्यक्षमा विजयी भए । २०७० को निर्वाचन जितेपछि उनी पहिलो पटक २०७३ सालमा स्वास्थ्यमन्त्री समेत भएका थिए । उनी सांसदमा निर्वाचित भएसँगै धरैले अबको प्रधामन्त्रीको रुपमा चर्चा गर्न थालेका छन् ।

थापाले पनि उम्मेदवार बन्नु अघि नै अबको प्रधानमन्त्रीका लागि लड्ने बताएका थिए । उनको समर्थन पनि भयो र आलोचना पनि भयो । तर उनी पछि हटेनन् । आफूले अब १० वर्षमात्रै राजनीति गर्ने भन्दै युवा अवस्थामै देशलाई अगाडि लैजाने अठोट भएको उनले बताउँदै आएका छन् । मंगलबार भारी मतका साथ विजयी भएपछि पनि थापाले पत्रकारसँग अब संसदीय दलको नेताका लागि तयारी गर्ने बताएका छन् । उनले पहिलो खुड्किलो पूरा गरेका छन् । अब निर्वाचन सकिएर सांसदहरु चुनिएपछि संसदीय दलको नेताका लागि लड्ने छन् । प्रधानमन्त्रीको दावेदारी भएका कारणले पनि अबको उनको बाटो संसदीय दलको नेता बन्ने नै हो ।

थापाले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । विसं २०४६ को जनआन्दोलनका बेलामा अध्ययनकै उक्त आन्दोलनमा सहभागी भएका थापा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आवद्ध थिए । उच्च शिक्षा अध्ययनका क्रममा २०५१ सालमा थापा त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका उनी स्ववियु सचिव, सभापति, नेपाल विद्यार्थी उपाध्यक्ष, नेपाल विद्यार्थी संघको महामन्त्री, काँंग्रेस केन्द्रीय सदस्य हुँदै सांसद र स्वास्थ्यमन्त्री र अहिले पार्टी महामन्त्री बनेका हुन् । थापा स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य बीमाको कार्यक्रम ल्याएका हुन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update