Shittalpati
गुल्मीमा राष्ट्रिय सभा गठबन्धनका उम्मेदवार बिच छलफल

गुल्मी, यहि माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनका साझेदार उमेद्वारहरुले गुल्मीमा भेटघाट तथा छलफल गरेका छन् । राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनको तर्फबाट उमेदवार बनेका काँग्रेसका नेता युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी नेतृ राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका नेता तुलप्रसाद विश्वकर्माले गुल्मीस्थित पाँच दलीय गठबन्धनका नेताहरुसंग छलफल गरेका हुन् ।

अहिले राष्ट्रिय सभाको निर्वाचनमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको पाँच दलीय गठबन्धन रहेको छ । दलीय गठबन्धनको बिरुद्धमा नेकपा एमाले एक्लो छ ।

नेपाली काँग्रेस गुल्मीको पार्टी कार्यालय वीपी स्मृति भवन तम्घासमा भएको छलफलमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठ, नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक वीर बहादुर कार्की, नेकपा एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेश भण्डारी, राष्ट्रिय जनमोर्चाकाकी तारा थापा र जनता समाजवादी पार्टीका घनश्याम पाण्डे लगायतका नेता तथा कार्यकर्ताहरुले राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशका उमेदवारसँग छलफल गरेका हुन् ।

छलफलको क्रममा राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशको दलित तर्फबाट उमेदवार बनेका तुलप्रसाद विश्वकर्माले दलीय गठबन्धनको उमेदवार भएकोले आफूले चुनाव जित्ने पक्का रहेको बताए । विश्वकर्मा बिद्यार्थी जिबनदेखि राजनितीमा सक्रिय छन् । उनी राष्ट्रिय जनमोर्चा पार्टीका नेता हुन् । त्यस्तै राष्ट्रिय सभामा लुम्बिनी प्रदेशको तर्फबाट महिला उमेदवार बनेकी राजेन्द्रलक्ष्मी गैरेले महिलाराजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरुको बारेमा डटेर लडेको कारण आफूले बहुमतले राष्ट्रिय सभाको निर्वाचन जित्ने दाबी गरिन् ।

आफ्नै पार्टीका अध्यक्षले संविधान मिचेर देशमाथि बारम्बार गरेको प्रहारको बिरोध गर्दा अहिले अलग पार्टीमा हुनुपरेको बताइन् । केपी ओलीले चालेको प्रतिगमनका बिरुद्ध डटेर लड्दा दलीय गठबन्धन सिर्जना भएकोले आफू राष्ट्रिय सभाको निर्वाचनमा उमेदवार बन्न पुगेको बताइन् । उनी नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ हुन् ।

साथै राष्ट्रिय सभाको निर्वाचनमा लुम्बिनी प्रदेशबाट खुल्ला तर्फका उमेदवार युवराज शर्माले आफू वि.सं. २०२५ देखि नेपाली काङ्ग्रेससँग आबद्ध भई नेपाली राजनितीमा क्रियाशील रहेकोले आफूलाई सबैले विश्वास गरेर जिताउने बताए । पाँच दलीय गठबन्धनमा कुनै मतभेद नभई आफूहरू अगाडि बढेकोले राष्ट्रिय सभा निर्वाचनमा दलीय गठबन्धनका सबै उम्मेदवार विजयी हुने शर्माले बताए । उनी नेपाली काँग्रेसका नेता हुन् ।

छलफलको क्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले दलीय गठबन्धन एकआपसमाको समझदारीमा चल्नुपर्ने बताए । लुम्बिनी प्रदेशमा दलीय गठबन्धनले राष्ट्रिय सभाको चुनाब जित्ने पक्का भएको उपसभापति श्रेष्ठले बताएका थिए ।

दुई÷दुई पटकपटक संसद विघटन गर्ने प्रयास गरेको नेकपा एमालेले अहिले संसद चल्न नदिएको श्रेष्ठले छलफलको क्रममा बताए । दलीय गठबन्धन एकताबद्ध भएर आफ्ना उम्मेदवारहरुलाई बिजयी बनाउन नेपाली काँग्रेस लुम्बिनी प्रदेश खटिएको उनले जानकारी दिए ।

नेपाली काँग्रेस गुल्मी, नेकपा माओवादी केन्द्र गुल्मी, नेकपा एकीकृत समाजवादी गुल्मी, राष्ट्रिय जनमोर्चा गुल्मी र जनता समाजवादी गुल्मीका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो तर्फबाट सबै सहयोग हुने भन्दै उमेदवारहरु पाँच दलीय गठबन्धनको साझा उम्मेदवार भएको बताएका थिए ।

 

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update