Shittalpati
पाल्पाका वीरबहादुर राना लुम्बिनी प्रदेशमा मन्त्री बन्दै

पाल्पा,  लुम्बिनी प्रदेशका सांसद् तथा नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बन्ने पक्का भएको छ ।

प्रदेश सरकारमा काँग्रेस, माओवादी केन्द्रबाट मन्त्री बन्ने सांसदहरुको नाम टुंगो लगाएसँगै पाल्पाका राना सिचाँइ मन्त्री बन्ने भएका हुन् । उनले आजै सपथ खाने स्रोतले जनाएको छ ।

यस्तै राज्यमन्त्रीमा काँग्रेसबाट कपिलवस्तुकी रिना नेपाल विक र अर्जुन कुमार श्रेष्ठलाई पठाउने निर्णय काँग्रेसले गरेको प्रमुख सचेतक फखरुद्दिन खानले बताए ।

यसअघि वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँलाई पठाउने कांग्रेस प्रदेश संसदीय दलले निर्णय गरिसकेको थियो ।

कांग्रेसबाट दाङका डिल्लीबहादुर चौधरी साउन २८ गते नै पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री भइसकेका छन् ।

यस्तै माओवादी केन्द्रबाट दाङकी विमला खत्री वली राज्यमन्त्री बन्ने भएकी छन् । माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने टुंगो यसअघि नै लागेको थियो ।

माओवादीबाट प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्री बनेका छन् । माओवादीले आन्तरिक मामिला तथा सञ्चार, कानुन, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update