Shittalpati
‘माधव समूहका गल्ती हेर्दा पानी खाने ठाउँ समेत छैन’

गुल्मी,  नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले माधव समूहका गल्तीहरु हेर्दा पानी खाने ठाउँ समेत नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल गुल्मीले आइतबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् । उनले माधव समूहका गल्तीहरु हेर्दा पानी खाने ठाउँ समेत नराखेको भए पनि पार्टीलाई एक ढिक्का बनाउनका लागि माधव पक्षले हालसम्म गरेका गल्तीहरुलाई माफी दिएको बताए । एमाले नेतृत्वको सरकारलाई ढालेर काँग्रेसलाई सत्ता सुम्पिनका लागि माधव समूह लाग्नु अलोकतान्त्रिक र विडम्बना भएको सचिव ज्ञवालीको तर्क छ । केही समूह र ब्यक्तिगत स्वार्थका कारण एमालेमा यस्तो अवस्था आएको उनले बताए ।

ज्ञवालीले जनादेशबाट गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई सर्वोच्च अदालतको परमादेशबाट देउवा नेतृत्वको सरकार गठन गर्ने फैसला गैर राजनितिक क्रियाकलाप भएको आरोप लगाए । सर्वोच्चको फैसलालाई स्विकार गरे पनि आफूहरुको असहमति रहेको उनको तर्क छ । सर्वोच्चको फैसलाले आधारभुत संरचनाहरुलाई पनि खलबल्याएको ज्ञवालीको बताए । राजनितिक संकटलाई राजनितिक दलबाटै समाधान खोजिनु पर्नेमा त्यस नहुनु दुखद पक्ष रहेको उनको भनाई छ । वर्तमान गठबन्धनको सरकार असैद्धान्तिक भएकाले देश र जनताको हितमा काम गर्ने एजेन्डा नै नभएको ज्ञवालीको आरोप छ । ज्ञवालीले यस अगाडि केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको मन छुने र विकासका कामहरु गरेको दाबी गरे । वर्तमान सरकारले एमाले पार्टी फुटाउनका लागि अध्यादेश ल्याउन सक्ने भन्दै त्यो सफल नहुँने पनि दाबी गरे । –अनिल खत्री

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update