Shittalpati
महिलामा पार्टी पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्छ : नेता सिटौला

काठमाडौं, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिलामा काँग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्ने बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आइतबार साँझ यहाँ आयोजना गरेको ‘नेपाली काँग्रेसको १४ औँ महाधिवेशन :नीति र नेतृत्वमा महिला’ विषयक प्रदेश १ र २ स्तरीय भर्चुअल अन्तक्र्रियामा उनले पार्टी पदाधिकारीमा पुरुषसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता महिलाले राखेमात्र महिला क्षमता विकास हुने बताएका हुन् ।

‘पार्टीभित्र महिलाहरु समावेशी अधिकारका लागि मात्र लडेर हुँदैन, प्रतिस्पर्धामा जानुपर्छ, प्रतिस्पर्धासँगै महिलाको क्षमता विकास हुँदै जान्छ,’, नेता सिटौलाले भने । पार्टीका पूर्व महामन्त्री सिटौलाले पार्टीभित्र चाकडी र चाप्लुसी बढ्दै गएकाले महिलाहरु नेतृत्वमा पुग्न नसकेको उल्लेख गरे । उनले संविधानअनुसार महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत अधिकार दिनेबारेमा पार्टीभित्र आफू सकारात्मक रहेको स्पष्ट पारे ।

काँग्रेस पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले महिलाहरु नेतृत्वमा पुग्न नसकेसम्म महिलाका लागि उचित नीति बन्न नसक्ने बताइन् । पार्टीको नीति निर्माणको ठाउँमा पुरुष हावी हुँदा महिला नेतृत्वलाई अगाडि बढाउन गाह्रो भयो,‘उनले भनिन् । उनले मुलुकका हरेक आन्दोलनमा महिलाहरुले अग्रणी भूमिका निर्वाह गरे पनि नेतृत्व तहमा अहिलेसम्म पुग्न नसकेको बताईन् । संविधानको मर्म र भावनाअनुसार पार्टीले महिला नेतृत्वलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । पार्टीका केन्द्रीय सदस्य एवं कार्यक्रमका संयोजक डा. डिला संग्रौलालाले नेपालमा आधाभन्दा बढी जनसंख्या भएको महिलाहरु काँग्रेसको नेतृत्वमा पुग्न नसकेको गुनासो गरिन् । उनले संविधानले राज्यको हरेक निकाय र पार्टीको हरेक संरचनामा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरे पनि उक्त अधिकारको पालना नभएको गुनासो गरिन् । –रासस

 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update