Shittalpati
पाल्पा काँग्रेसले अक्सिजन सहयोग गर्ने

पाल्पा,कोभिड १९ को महामारीका बेला अक्सिजनको अभावले परेको समस्यालाई तत्काल समाधान गर्न माग गर्दै आएको पाल्पा काँग्रेसले जिल्लाका विभिन्न अस्पताल र आईसोलेशन सेन्टरलाई अक्सिजन सहयोग गर्ने भएको छ ।

नेपाल भारत अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष तथा युवा नेता सन्दीप रानाको आर्थिक सहयोग र नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर रानाको नेतृत्वमा सो अक्सिजन सिलिण्डरहरु रिफिल गरी सहयोग गर्ने निर्णय भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरेले जानकारी दिए । महामारीको पिडामा मल्हम लगाउँने सोंचका साथ हाललाई पचाँस थान अक्सिजन सिलिण्डर जिल्लालाई सहयोग गरिने काँग्रेसले जनाएको छ ।

अक्सिजन सिलिण्डरहरु पाल्पा अस्पतालमार्फत विभिन्न स्थानीय निकायका आईसोलेशन सेन्टरहरुमा समानुपातिक रुपमा वितरण गर्ने सोंचका साथ सहयोग प्रदान गर्न लागिएको पार्टी सभापति तथा लुम्विनी प्रदेश सांसद वीरवहादुर रानाले बताए ।
पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेका अनुसार पँचास थान अक्सिजन ग्यासका सिलिण्डर रिफिल गरेर आए पछि जिल्लाका विभिन्न अस्पताल र आईसोलेशनका लागि प्रदान गर्ने योजना बनाई सकिएको छ । अध्यक्ष पाण्डेले भने ‘प्राथमिकता र आवश्यकताका आधारमा अक्सिजन ग्यास प्रदान गरिने छ ।’

नेपाली काँग्रेस पाल्पाले कोरोना महामारी भयावह बन्दै गए पछि चिन्त व्यक्त गर्दै आएको छ । काँग्रेसले जिल्लावासीहरुमा कुनै पनि समस्या आई नपरोस् भन्दै सम्बन्धित निकायको ध्यानाकर्षणसँगै सक्दो सहयोग गर्दै आएको पाइन्छ । काँग्रेसले यस अघि जिल्लामा संक्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन पार्टी कार्यालयको विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि आवश्यक परेमा आइसोलेसन कक्ष बनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति समेत दिइसकेको छ । संक्रमितको दर बढेकाले अस्पतालमा शैया अभाव हुन सक्ने कुरालाई मध्यनजर गर्दै काँग्रेसले बिरामीलाई राखेर उपचार गर्न ठाउँ अभाव भएमा पार्टी कार्यालयलाई आइसोलेसन वा कोभिड अस्पतालकारुपमा प्रयोग गर्न स्वीकृत दिइसकेको हो ।

 

 

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update