Shittalpati
राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा दुईजनाको उम्मेदवारी

देउखुरी, राष्ट्रियसभाका उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हुने निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी –५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् । उनी नेकपा (माओवादी) बाट एमालेमा प्रवेश गरेका थिए ।

नेपाली कांग्रेस, माओवादी , जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । उनी लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित भएका थिए । प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नु अघि उनी काँग्रेस पार्टीमा आवद्ध थिए ।
दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उनीहरुले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकारी निमराज भट्टराईले बताए । प्रदेशमा रहेका १०९ स्थानीय तहमा एमालेका ९१, काँग्रेसका ६४, माओवादी ३९, जसपाका १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ छन् ।

यसैगरी प्रदेश सभामा एमालेका ४१ सदस्य छन् । बिमला वली माओवादी केन्द्रमा प्रवेश गरेकी छन् भने अम्बरबहादुर डाँगीले राजीनामा दिएका छन् । यस्तै काँग्रेसका १९, माओवादीका १८, राष्ट्रिय जनमोर्चा १, जसपाका ६ छन्, भने दुई जनाले गठबन्धनलाई समर्थन गरेका छन् । प्रदेशसभा सदस्य ७९ र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २१७ गरी २९६ मतदाता रहेको निर्वाचन अधिकारी भट्टराईले जानकारी दिए । –रासस

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update