Shittalpati
पाल्पा र गुल्मीमा पनि संसद् विघटनविरुद्ध काँग्रेसको प्रदर्शन

पाल्पा, संसद् विघटनको विरोधमा नेपाली काँग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद् विघटनलाई असंवैधानिक भनेको उसले पाल्पा, गुुल्मी सहित देशभरका ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् ।

पाल्पाको प्रदेश नं २ (क) को बगनासकालीको चिलादीमा आयोजित सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस पाल्पाका सभापति तथा लुम्बिनी प्रदेशका सांसद विरबहादुर रानाले बहुमत प्राप्त केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान माथि कुठराघात गरेको बताएका छन् । उनले लोकतन्त्र जोगाउन र संविधानको संरक्षणको जिम्मेवारी अहिले काँग्रेसको काँधमा आएकाले आफुहरु सडकमा उत्रिएको बताए । ‘काँग्रेस आफ्नो दायित्व र जिम्मेवारीबाट भाग्न मिल्दैन र भाग्दैन पनि’ उनले भने । सभापति रानाले असंवैधानिक रूपमा सरकारले अगाडि सारेको प्रतिनिधिसभा विघटनको प्रस्ताव स्वीकृत गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको पालना र संरक्षण गराउने भूमिका पूरा गर्नबाट चुकेको बताए । प्रमुख प्रतिपक्षी दलको हैसियतले काँग्रेसले आफ्नो नेतृत्वमा बनेको संविधान माथि बलत्कार भइरहेको हेरेर बस्न नसक्ने उनको भनाइ छ । नेपाली काँग्रेस क्षेत्र नं २ प्रदेश सभा ‘क’ का कोषाध्यक्ष विष्णु गाहाले प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु पूर्णरुपमा अवैधानिक भएको बताएका छन् । उनले ओली सरकार र राष्ट्रपतिको मिलोमतोमा लोकतन्त्र माथि खेलवाड गरी लोकतन्त्र मास्न र एकाधिकारको लागि संसद् विघटन गरेको प्रति आपत्ती जनाएका थिए । पाल्पाको प्रदेश नं १(ख) को माथागढीको कसेनीमा आयोजित सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरेले प्रधानमन्त्रीले संसद् विघटन गर्नु सरासर गलत भएको बताएका छन् । प्रतिनिधि सभा क्षेत्र नं १(२) का सभापति सन्तोष थापा, प्रदेश नं १(ख)का सभापति विष्णु थापाले नेपाल कम्युनिष्ट पार्टीको विवादसँग जोडेर प्रतिनिधिसभा विघटन गरिनु दुःखद् भएको भन्दै यसलाई सच्याएर जानुपर्ने बताए ।

यस्तै पाल्पाको प्रदेश नं २ (ख) को हार्थोकमा आयोजित सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजन पन्तले संविधानमा संसद् विघटनको व्यवस्था नै नहुँदा नहुँदै पनि सरकारकै प्रमुखबाट यस्तो हर्कत हुनु दुखद् भएको बताए । प्रतिनिधि सभा क्षेत्र नं. २ का सभापति रामबहादुर कार्की, प्रदेश नं. २(ख) का सभापति दमबहादुर कार्कीले बहुमत प्राप्त सरकार प्रतिगामी बनेको र जनतालाई धोका दिएको आरोप लगाएका छन् ।  त्यस्तै पाल्पाको प्रदेश नं १ (क) को पूर्वखोलामा भएको सभामा नेपाली काँग्रेसका जिल्ला उपसभापति देवराज ढकाल, प्रदेश नं १ (क) सभापति सूर्यप्रसाद पोखरेलले सरकारले चालेको कदम लोकतन्त्र विरोधी र गैरसंवैधानिक भएकाले संविधान संरक्षणका लागि आफूहरु सडकमा आएको बताए । नेपाली काँग्रेस गुल्मीले पनि जिल्लाका चार वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । निर्वाचन क्षेत्रको क्षेत्र नं. १ प्रदेश (ख) मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारी, क्षेत्र नं. २ प्रदेश (क) मा नेपाली काँग्रेसका नेता तथा विघटित सांसद प्रकाश रसाइली स्नेही, क्षेत्र नं. २ प्रदेश (ख) मा नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, क्षेत्र नं. १ प्रदेश (क) मा भएको विरोध सभालाई उप–सभापति विष्णुप्रसाद बलालले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update