Shittalpati
जनगणनाको अन्तिम नतिजा सार्वजनिक,नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार

रामचन्द्र रायमाझी
पाल्पा, राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको घोषणा गरिएको छ । जसमा १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ (४८.९८) पुरुष र १ करोड ४९ लाख ११ हजार २७ (५१.०२) महिला रहेका छन् । यो अनुसार लैङ्गिक अनुपात प्रति सय जना महिलामा पुरुषको संख्या ९५ दशमलव ५९ रहेको छ । २०६८ सालमा कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको थियो । जसमा लैङ्गिक अनुपात ९४ दशमलव १६ रहेको थियो । गत माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको थियो । जनगणना अवधिको वार्षिक औषत जनसंख्या वृद्धिदर ० दशमलव ९२ प्रतिशत रहेको छ । जुन २०६८ सालको जनगणना अनुसार १ दशमलव ३५ प्रतिशत प्रतिवर्ष थियो । सबैभन्दा बढी बार्षिक औषत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर (३.३५ प्रतिशत) र सबैभन्दा कम बार्षिक औषत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप (–१.६७ प्रतिशत) रहेका छन् । जनगणनाको नतिजा अनुसार जनघनत्व १ सय ९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ । जुन २०६८ सालमा १ सय ८० थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४ सय ६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ । सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा (५१६९ जना प्रति वर्ग किलोमिटर) र सबैभन्दा कम मनाङ जिल्लामा (३ जना प्रति वर्ग किलोमिटर) रहेको छ । प्राप्त नतिजा अनुसार देशका ७७ जिल्लाहरुमध्ये सबैभन्दा बढी जनसंख्या काठमाडौं जिल्लामा २० लाख ४१ हजार ५ सय ८७ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५ हजार ६ सय ५८ जनाको बसोवास रहेको छ । मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ धेरै जनसंख्या भएका जिल्लाहरु हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन् । राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २० दशमलव ९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५ दशमलव ७९ प्रतिशत रहेको छ । जुन गत २०६८ को जनगणनामा क्रमशः २० दशमलव ८७ र ५ दशमलव ९३ प्रतिशत रहेको थियो । यसैगरी मधेश प्रदेशमा दोस्रो ठूलो जनसंख्या रहेको छ । २०७८ मा जनसंख्याको आकारको हिसाबले तेश्रो, चौथो, पाँचौ र छैठौं क्रमशः कोशी, लुम्बिनी, सुदुरपश्चिम र गण्डकी प्रदेश रहेका छन् ।

अहिलेको जनगणना अनुसार देशका कुल परिवार मध्ये आधा भन्दा बढी (५१ प्रतिशत) परिवारले खाना पकाउन अक्सर काठ/दाउरा प्रयोग गर्ने गरेका छन् । खाना पकाउन अक्सर एल.पि.ग्याँस,बिजुली, गुईठा÷गोरहा, बायोग्याँस, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत क्रमशः ४४ दशमलव ३, ० दशमलव ५, २ दशमलव ९, १ दशमलव २, ० दशमलव ०५ र ० दशमलव १ रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ६४ दशमलव ० प्रतिशतले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेका थिए । यस्तै जनगणना २०७८ अनुसार धेरैजसो घरपरिवारहरुले आफू बसोबास गरेको घर÷आवासीय एकाइमा बत्ती बाल्नका लागि अक्सर बिजुली प्रयोग गर्ने गरेका छन् । गत जनगणनामा बिजुली प्रयोग गर्ने परिवार ६७.३ प्रतिशत प्रतिशत रहेकोमा हाल सो अंशमा उल्लेख्य वृद्धि भई ९२ दशमलव २ प्रतिशत पुगेको छ । बत्ती बाल्नका लागि अक्सर सोलार÷सौर्य ऊर्जा, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः ६ दशमलव ६, ० दशमलव ६, र ० दशमलव ६ प्रतिशत रहेका छन् । २०६८ मा बत्ती बाल्नका लागि अक्सर मट्टितेल, सोलार र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः १८ दशमलव ३, ७ दशमलव ४ र ६ दशमलव १ प्रतिशत रहेको थियो । यस्तै अहिलेको नतिजा अनुसार साधारण मोवाइल फोन हुने परिवारको प्रतिशत ७३ दशमलव १५ प्रतिशत छ भने त्यसपछि स्मार्ट मोबाइल फोन भएका परिवार ७२ दशमलव ९४ प्रतिशत रहेको छ । कुल परिवारमध्ये ४९ दशमलव ३७ प्रतिशतमा टेलिभिजन, ३७ दशमलव ७२ प्रतिशतमा इन्टरनेट सुविधा, ३५ दशमलव २१ प्रतिशतमा साइकल उपलव्ध रहेको छ । यस्तै १० वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको ३३ दशमलव १ प्रतिशत व्यक्तिहरु अविवाहित रहेका छन् ।

जसमा पुरुष ३८ दशमलव २ प्रतिशत र महिला २८.४ प्रतिशत छन् । त्यस्तै १० वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिहरु मध्ये ६१ दशमलव ८ प्रतिशत हाल विवाहित अवस्थामा छन् । हाल विवाहित पुरुष र महिलाहरु उनीहरुको कुल जनसंख्याको क्रमशः ५९ दशमलव १ र ६४ दशमलव ३ प्रतिशत रहेका छन् ।

राष्ट्रिय योजना आयोगले राष्ट्रिय तथ्यांक कार्यालय मार्फत २५ कात्तिकदेखि ९ मंसिर २०७८ सालको जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । नेपालमा हरेक १०÷१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । २०७८ सालको राष्ट्रिय जनगणना नेपालको बाह्रौं र २०७२ सालमा जारी भएको नेपालको संविधान बमोजिमको संघीय प्रणाली पश्चातको पहिलो जनगणना हो ।

 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update