Shittalpati
बुद्धका सन्देशको सान्दर्भिकता

भगवान् सिद्धार्थ बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनलाई कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको वास्तबिक नाम सिद्धार्थ गौतम थियो । उनी कुनै शान्ति दुत थिएन । उनी सद मार्गको मार्गदर्शक थिए ।

सोमबार बुद्धको जन्म जयन्ती मनाइएको छ । वैशाख शुक्ल पूर्णिमाको दिन गौतम बुद्धका जीवनमा महत्वपूर्ण तीन घटनाहरु भएकाले पनि बुद्ध जयन्तीको महत्वलाई विशेष रुपमा लिने गरिन्छ । बुद्ध जन्मेको, उनलाई बुद्धत्व प्राप्त भएको र उनले परिनिर्वाण गरेको तीनवटै महत्वपूर्ण घटनाहरु वैशाख शुक्ल पूर्णिमाका दिनमा परेका थिए । ईसापूर्वको पाँचौ शताब्दीसम्म गौतम बुद्ध जीवित रहेको आधारमा बुद्धमार्गीहरुले बुद्ध जयन्ती गणना गरिएको देखिन्छ । बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाइन्छ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक बुद्धको जन्मजयन्तीमा शान्तिको कामना गर्ने गरिन्छ । शान्तिका अग्रदूधका रुपमा चिनिएका बुद्धको जयन्ती मनाउनु आफैमा सकरात्मक हो । तर उनको उपदेश वा सन्देशको अनुसरण गरियो कि गरिएन त्यो महत्वपूर्ण हो । बुद्धले संसारलाई शान्तिको मार्गमा हिँड्न प्रेरित गर्दै जीवन र मरणको भवसागरबाट मुक्त हुने मार्ग देखाएका थिए । यो मार्ग विश्वका लागि अनुकरणीय छ । बुद्धका उपदेशमा अहिंसा, मित्रता र विश्व वन्धुत्वको सन्देश छ । 

लोभ, तृष्णा, मोह, रिस, राग, स्वार्थ नै दुःखका मूल कारण भएकाले त्यसको त्याग गर्नु नै सुख, शान्ति र आनन्दतर्फ अग्रसर हुनु हो । बुद्धका पञ्चशील शिक्षाको पालनाले जीवनलाई सहज बनाउँछ, दुःख अन्त्य गर्छ र निर्वाण प्राप्त हुन्छ । बुद्ध दर्शन बौद्ध धर्मावलम्बीका लागि मात्र नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि हो । हरेक वर्ष बुद्ध जयन्ती मनाइने गरिए पनि बुद्धको यी उपदेशलाई भने कोही कसैले पनि अनुसरण गरेको पाइदैन । यो अत्यन्त दुखको कुरा हो । आजको विश्व कहालीलाग्दो चपेटामा भासिन पुगेको छ, शान्तिको अग्रदूत गौतम बुद्धले दिएको ज्ञानलाई शिरोधार्य गर्ने हो भने पूरा विश्व नै सुन्दर नगरी शान्ति क्षेत्र बन्ने कुरामा कसैको पनि दुई मत छैन । यसर्थ अहिलेको अवस्थामा बुद्धको सन्देशको सान्दर्भिकता बढ्दो भएकाले यसको अनुसरण गर्न जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update